२० वर्षपछि नेपाल र बर्माबीच अब सिधा उडान सुरु 



काठमाडौं । नेपाल– म्यानमार(बर्मा)को हवाई सम्बन्ध जोडिएको छ । दुइ दशकदेखि हवाई सम्बन्ध हुन नसकेको नेपाल र बर्माको हवाई सम्बन्ध हिमालय एअरलाइन्सले पुर्नस्थापित गराएको हो ।

नेपाल–चीनको सयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहान शुक्रबार १०:५५ मा काठमाडौं–यांगुन(रगुन) उडान गरेको छ । विमान रंगुनमा नेपाली समय अनुसार २:१५ मा अवतरण भएको हिमालयन एअरलाईन्स्का उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

हिमालयनले हप्ताको दुईदिन शुक्रबार र सोमबार उडान भर्ने छ । एज नाइन ८९३ नम्बरको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:५५ बजे उड्ने छ भने २:१५ मा यांगुन पुग्ने तालिका रहेको छ ।

त्यसपछि ३:१५ मा यांगुनबाट काठमाडौंका लागि उड्ने हिमालयको एच नाइन ८९२ नम्बरको उडान बेलुका ५:१५ मा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सेड्युल रहेको श्रेष्ठले जानकारी दिए ।

काठमाडौं–यांगुन– काठमाडौं राउन्ड ट्रिपको सुरुवाती भाडो २९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसमा सरकारी कर जोडिएको छैन ।

केही महिना भित्रमा एअ दमाम, हङकङ, दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई, बैंकक, वेइजिङ, ल्हासा र चेंदगुलाई प्रत्यक्ष उडान मार्फत जोड्ने योजना रहेको श्रेष्ठले बताए ।
‘एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्योगमा टेवा पुयाउन एअरलाईन्स् प्रतिबद्ध छ, काठमाण्डौं(याङगुनहवाई यात्राको सुरुवातसँगै एअरलाईन्सले नेपाल र म्यानमारका यात्रुवर्गहरु प्रति लक्षित गरी बढी छनोटका अवसहरु प्रदान गर्दै आफनो सञ्जाल क्रमशःअभिवृद्धि गर्दै लानेछ र आपसी सम्बन्ध विस्तार गर्नेछ,’ श्रेष्ठले भने ।

यसअघि हिमालयले कतारको दोहा, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा उडान गरिरहेको छ ।

हिमालय एअरलाइन्स्ले आगामी पाँचवर्ष भित्र १५ वटा जहाज ल्याउने तयारीमा छ । काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न सहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको श्रेष्ठले बताए । एअरलाइन्सले केही समयपछि लामो दुरी उडान भर्ने ए ३३० जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको पनि उनले जानकारी दिए ।


क्लिकमान्डु