हरेक महिना औद्योगिक प्रवद्र्धन बोर्डको बैठक: उद्योगमन्त्री जोशी



काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले अब हरेक महिना औद्योगिक प्रवद्र्धन बोर्ड बैठक बस्ने बताएका छन् ।  उद्योगमन्त्रीको फुर्सद नहुँदा बोर्ड बैठक नबसेको कारण ३० अर्बभन्दा बढीको लगानी सम्बन्धी फाइल रोकिएको छ ।

उद्योगमन्त्री जोशीले विदेशी कुटनीतिक नियोगसँगको छलफलमा बोर्ड बैठक नियमित बस्ने जानकारी गराएका हुन् । सरकारले आगामी फागुन १९ र २० गते गर्न लागेको लगानी सम्मेलनको बारेमा जानकारी गराउन उद्योगमन्त्रीले कुटनीतिक नियोगका व्यक्तिसँग छलफल गरेका हुन् ।

कुटनीतिक निकायसँगको छलफलमा मन्त्री जोशीले नेपालमा अवको समय औद्योगिक क्रान्तिको समय भएकोले पूर्वाधार विकासका साथ साथै उत्पादन मूलक उद्योगमा लगानी गरी फाईदा लिन स्वदेशी तथा विदेशी लगानी कर्ताहरुलाई आग्रह गर्नु गरे ।

‘उद्योग मन्त्रालयले औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानूनहरुको समसामयिक सुधार तर्पm लागेको छ, विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी कानून मन्त्रालयबाट निर्माण भै सरोकारवाला मन्त्रालयहरु बीच अन्तिम छलफलमा रहेको छ,’ उनले भने ।

प्रस्तावित कानूनले नेपाली लगानीकर्ता सरह विदेशी लगानी कर्तालाइृ पनि छुट सुविधाहरुको व्यवस्था गरेको भन्दै मन्त्री जोशीले विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाईएको जानकारी कुटनीतिक नियोगका प्रतिनिधीलाई दिए ।

छलफल विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका वारेमा चासो व्यक्त गरेका थिए ।

लगानी आकर्षित गर्न औद्योगिक वातावरण जरुरी रहेको भन्दै प्रतिनिधीले औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यक रहेको बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सम्मेलन तयारी समितिका सदस्य एवं लगानी वोर्डका बरिष्ठ व्यवस्थापक रतिस बस्नेतले अहिले सम्म विभिन्न मुलुकका ४० जनाले सम्मेलनमा सहभागिताका लागि प्रतिवद्धता जनाईसकेको जानकारी दिए ।


क्लिकमान्डु