महानगरका कर्मचारीको बद्मासी रोक्न मुख्य सचिबको लिखित निर्देशन




काठमाडौं । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका कर्मचारीले घर तथा भबन निर्माणको नक्सा आफ्नै कन्सल्टेन्सीबाट तयार पार्न बाध्य पार्ने गरेका छन् । कर्मचारीले आफ्नै कन्सलटेन्सी खोल्ने र त्यही कन्सलटेन्सीबाट नक्सा तयार नपारेमा स्वीकृतिमा झमेला सिर्जना गर्ने गरेका हुन् ।

कर्मचारीले यस्तो बद्मासी गरेपछि छानबिन गरेर आवश्यक कारबाही गर्न मुख्य सचिब डा. सोमलाल सुबेदीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका पत्राचार नै गरेका छन् ।

‘महानगर, उपमहानगर र नगरपालिकाहरुको क्षेत्रधिकार भित्र बसोबास गर्ने बासिन्दाले घर निर्माण गर्नुअघि नक्सापासको स्वीकृति लिनुपर्ने कानुनी ब्यवस्था छ, यो ब्यवस्था कार्यान्वयन गर्ने क्रममा गरिने नक्साको निर्माण लगायतका कार्यहरुमा महानगर, उपमहानगर, र नगरपालिकामा कार्यरत कर्मचारीहरुले परामर्श सम्बन्धी कार्यालय खोली सो मार्फत सेवा लिन बाध्य पार्ने र अर्काे ठाउबाट सेवा लिएको भए त्यस्ता सेवाग्राहीलाई दुख हैरानी दिने दिने गरेको गुनासाहरु प्राप्त हुन आएका छन्,’ मुख्य सचिबले स्थानीय बिकास मन्त्रालयका सचिबलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

यस्ता कार्यगत र ब्यवहारगत गलत प्रबृत्तिले समग्र प्रशासनको साख क्रमश खस्कदै गइ प्रशासनप्रतिको जनविश्वास गुम्ने सम्भाबना रहेको मुख्य सचिबको ठहर छ ।

‘यस्ता विषय बस्तुको गहनतालाई ध्यान दिदै यस्ता कार्यमा संलग्न कर्मचारीहरुको छानविन र अनुसन्धानबाट पहिचान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने गराउने र सेवा प्रबाहलाई सुचारु गर्ने ब्यवस्था गरी सोको जानकारी मलाई गराउनु होला,’ मुख्यसचिब डा. सुबेदीले स्थानीय विकास मन्त्रालयका सचिबलाई पत्र लेख्दै भनेका छन् ।


क्लिकमान्डु