२०७४ सालको पात्रो माघ मसान्तसम्ममा, सार्बजनिक बिदाको दिन पात्रोबाट थाहा नहुने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ ।
समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ ।
समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई दिएको जानकारीअनुसार गृह मन्त्रालयले विसं २०७४ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको हो । नयाँ सालको नयाँ पात्रो यही माघ मसान्तसम्ममा प्रकाशन भइसक्ने छ ।
‘यस वर्षका पञ्चाङ्गमा पनि मन्त्रालयले सार्वजनिक बिदाको सूची उपलब्ध गराउन ढिला गरेका कारण समितिले बिदा समावेश गरेको छैन, सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरेबमोजिम हुनेछ भन्ने सूचना राखिन्छ,’ उनले भने ।
समितिमा सरकारले नियुक्त गरेका विद्वान्को समूहले २०७४ सालमा पर्ने चाडपर्वको निर्णय गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ ।
संस्कृति मन्त्रालय अन्तर्गतको समितिले प्रत्येक वर्ष प्रकाशन हुने पञ्चाङ्गको मस्यौदा हेरी स्वीकृत गर्ने गरेको छ । पञ्चाङ्गमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अङ्ग समावेश हुन्छन् । विसं २०७४ को संवत्सर साधारण नामको रहेको समितिले जनाएको छ । मन्त्रिपरिषद्को पुस अन्तिम साताको बैठकले सार्वजनिक बिदासम्बन्धी निर्णय गर्न समिति गठन गरेको छ । रासस