ताप्लेजुङमा सर्वाधिक राशीको राष्ट्रिय भलिबल प्रतियोगिता, विजेतालाई साढे ३ लाख पुरस्कार




काठमाडौं । ताप्लेजुङ जिल्लामा सर्वाधिक राशीको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनमा प्रतियोगिता फागुन ३ गतेदेखि ७ गतेसम्म हुने भएको छ ।

जिल्लाको पर्यटकीय धार्मिकस्थल पाथीभरको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुनेछ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा तीन विभागीय क्लबहरु नेपाल आर्मी, पुलिस र सशस्त्रको एपीएफ तथा पाँच विकास क्षेत्रका क्लबहरुको सहभागिता रहने ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवस चुङवाङले जानकारी दिए ।

विजेताले नेपालमा भएका भलिबल प्रतियोगितको सर्बाधिक नगद पुरस्कार ३ लाख ३० हजार प्राप्त गर्ने छन् । र, उपविजेताले १ लाख ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने टोलीले पनि सान्त्वना स्वरुप ३५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीलाई १० हजार रुपयाँ र विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिब्रो र सर्भरलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ ।

राष्ट्रिय भलिबल प्रतियोगिताका लागि कुल २८ लाख ५० हजार लाग्नेछ । र, खेलपश्चात बाँकी रहेको बजेट ताप्लेजुङ जिल्लाका खेलाडीका लागि तालिम र प्रशिक्षण तथा विद्यालयस्तरको भलिबल खेल विकासमा खर्च गरीने संघका अध्यक्ष चुङवाङले बताए ।

प्रतियोगिताको समापनमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता ताप्लेजुङका खेलाडी जुडोकी फुपु ल्हामु खत्री, एथ्लेटिक्सकी चन्द्रकला लामघादे तथा फुटबलका देवेन्द्र तामाङ र कुमारी गुरुङलाई सम्मान गरीने आयोजकले जानकारी दिइएको छ ।


क्लिकमान्डु