भन्सारको पाँचौं रणनीति सार्वजनिक, अन्तर्राष्ट्रिय सम्झौता अनुरुप बनाइने



काठमाडौं । भन्सार दिवसको अवसर पारेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाँचौँ रणनीति सार्वजनिक गरेका छन् ।
उक्त रणनीतिको कार्यान्वयनपछि भन्सार प्रशासन प्रक्रिया सरल एवम् स्वचालित हुने, भन्सारसँग सम्बन्धित कानुन संशोधन भई क्योटो महासन्धि र विश्व व्यापार संघठनको व्यापार सहजीकरण सम्झौताको प्रावधान अनुकूल हुने भन्सार विभागको दाबी छ ।
कार्यक्रममा अर्थमन्त्री महराले व्यापार प्रक्रियामा लाग्ने समय पहिचान गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रलाई सम्बोधन गर्दै उनले भन्सार विभागको भूमिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा असर पार्ने भएकाले यसलाई विश्वसनीय बनाउन निर्देशन समेत दिए ।

तथ्याङ्कमा आधारित प्रणाली आधार (डेटा बेस)मार्फत भन्सारलाई आधुनिकीकरण गरिने मन्त्री महराको भनाइ थियो ।

अर्थ सचिव डा. शान्तराज सुवेदीले व्यवसायीलाई पारदर्शी रुपमा व्यापार गर्न र त्यसमा सहजीकरण गर्न भन्सार कर्मचारी प्रतिबद्ध रहेको बताए ।

राजस्व सचिव राजन खनालले व्यापारलाई वैध बनाउनका लागि निर्यात तथा आयात कोडको व्यवस्था गरिएकोले उक्त कोड लिएर आफ्नो व्यवसायलाई व्यवस्थित गराउन व्यवसायीहरुलाई आग्रह गरे ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले सरकारले १० अर्ब ४० करोड खर्च गरेर पूर्वाधार विकास गर्न सके भन्सार बिभाग सुबिधा सम्पन्न बन्ने जिकिर गरे ।

कार्यक्रममा बोल्दै बिभिन्न व्यवसायीक संगठनका अध्यक्षहरुले राज्यले व्यवसायीको समस्या बुझन चासो नदेखाएको गुनासो गरे ।


क्लिकमान्डु