पूर्वराजाको नाममा १० कट्ठा जग्गा महोत्तरीमा भेटियो, नेपाल ट्रष्टले ल्याउने प्रक्रिया थाल्यो



महोत्तरी । पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा बीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।

ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताए ।

‘चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषद्मा पठाउँछौँ, मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ’ उनले भने ।
उनले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिए ।

ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी फेला पारिसकेको छ ।


क्लिकमान्डु