माघ १४ देखि १७ गतेसम्म काठमाडौंमा अर्ग्यानिक कृषि मेला हुने



काठमाडौ । लेट्स गो अर्गानिक भन्ने नाराका साथ राजधानीमा अर्गानिक एग्रो फेयर अर्थात प्राङगारिक कृषि मेला आयोजना हुने भएको छ ।

कृषि विकास मन्त्रालयलगायत विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टर र केटीइ फाउण्डेशनले यही माघ १४ देखि १७ गतेसम्म पाटन दरवार संग्राहलयमा मेला आयोजना गर्ने भएको हो ।

अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सदस्यहरुलाई सुपथ मूल्यमा आर्गानिक उपज उपलव्ध गराउने बताइएको छ ।

स्वस्थ भई वाँच्न पाउने अधिकारको संरक्षण गर्न र उपभोक्ता हीतको संरक्षण र सम्वद्र्धननमा सहयोग पुुरयाउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलामा अर्गानिक चिया, कफी, जुस, तरकारी, प्राङगारिक मल, च्याउ, डेरी उत्पादन, माछा, मासु, हर्वल उत्पादन मसला, खाद्यन्न, फलफूल, तेल र राडीपाखलगायत ५० वटा स्टल रहने मेला संयोजक शान्ता वास्कोटा कोइरालाले जानकारी दिएकी छिन् ।

मेलाकै अवसरमा वैदिक अर्गानिक एग्रिकल्चर विषयक अन्तराष्टिय कार्यशालासमेत आयोजना हुने आयोजक संस्थाका अध्यक्ष दीपक प्रकाश वास्कोटाले जानकारी दिएका छन् ।

प्रतिस्टल १० हजार रुपैयाँ रहेकोमा सरकारले प्रतिस्टल ५ हजार रुपैयाँ अनुदान सहयोग उपलव्ध गराएको पनि उनले बताए ।

नेपालमै अर्गानिक चियाको अभियानको सुरुवात गरेको कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टरले अन्तराष्टियस्तरको अर्गानिक प्रमाणीकरण संस्था नासाबाट सन् १९९७ मा अर्गानिक चिया उत्पादनको प्रमाणिकरण प्रमाणपत्र प्राप्त गरेको थियो ।

पाँचथर जिल्लाको रानीटारमा स्थापित उद्योगमा प्रत्यक्ष अप्रत्य गरी करिव ६ सय किसान आवद्ध रहेको पनि वास्कोटाले बताएका छन् ।


पुष्प दुलाल