पूर्बअर्थमन्त्री डा.महतमाथि नुवाकोटमा आक्रमण



काठमाडौं । पूर्बअर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतमाथि गृह जिल्ला नुवाकोटमा भौतिक आक्रमण भएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २, ढिकुुरेमा महतमाथि आक्रमण भएको हो ।

ढिकुरेमा जनजागर कार्यक्रम संचालन गर्न लाग्दा सो कार्यक्रम भाड्ने उद्देश्यले आफू र सर्बसाधारणमाथि आक्रमण भएको डा. महतले बताए । कार्यक्रमस्थलमा र कार्यक्रममा सहभागी हुन जानेहरुलाई बाटैमा ढुंगामुडा प्रहार गरिएको उनको भनाइ छ ।

‘बाटामा ठूलाठूला रुख ढालेर र ढुंगा थुपारेर अबरोध सिर्जना गरिएको थियो, त्यस्तो अबरोध पार गरेर जनचेतना कार्यक्रममा सहभागी हुन जानेहरुलाई बाटोमा पनि आक्रमण भयो, त्यसरी रोक्दा पनि सर्बसाधारणको उल्लेख्य उपस्थितिमा कार्यक्रम संचालन भएपछि त्यही पनि आक्रमण गरियो,’ डा. महतले क्लिकमाण्डूसँग भने ।

प्रहरी र नेपाली काँग्रेसका कार्यकताको सहयोगले आफू भने आक्रमणबाट जोगिएको उनले जानकारी दिए । ‘प्रहरी र काँग्रेस कार्यकर्ताले जोगाएकोले मलाई चोट लागेको छैन, अन्य सर्बसाधारण कति घाइते भए भन्ने यकिन जानकारी प्राप्त भएको छैन,’ उनले भने ।

यस्तो अबरोधकाबीच पनि कार्यक्रममा सर्बसाधारणको उल्लेख्य उपस्थिति रहेको उनले जानकारी दिए । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको नेतृत्वमा नै आफूमाथि आक्रमण भएको उनको भनाइ छ ।

‘माओबादी केन्द्रकै आव्हानमा ७/८ दिनदेखि नुवाकोट बन्द गरिएको थियो, यस्तो बन्दले सर्बसाधारणको दैनिकी कष्टकर बनेको र गलत अफवाह चिर्न आउनु पर्यो भनेर स्थानीयले आग्रह गर्नुभयो, यसैको लागि काँग्रेसले आयोजना गरेको जनजागर कार्यक्रममा भौतिक आक्रमण भएको हो,’ महतले भने ।

आक्रमणकारी माओवादी केन्द्रका कार्यकर्ता र बाहिरबाट जाँड खुवाएर ल्याइएका ब्यक्तिहरु भएको उनको दाबी छ । राज्य पुनसंरचना आयोगले तयार गरेको स्थानीय तहको ब्यवस्था विरुद्ध नुकावोटमा यस्तो आवस्था आएको हो ।


क्लिकमान्डु