पूँजीबाद ढल्ला र नेप्सेको बोर्ड टुकुचामा बगाउँला भनेर कुर्ने हो ?




कुनैपनि संस्था ऐतिहासिक बिकासको कुन चरणमा छ भन्ने पत्ता लगाउने सजिलो उपाय हो, तुलना । यदि संस्था आफैंमा नयाँ आविष्कार होइन वा बिकासक्रमको प्रक्रियामा सबैभन्दा अग्रपङ्क्तिमा छैन भने तुलना निकै ब्यवहारिक र उपयोगी हतियार हो । तुलना भने आफ्नै जस्तो अर्थराजनीतिक अबस्था वा पृष्ठभूमी भएको समाजको संस्थासँग गरिनुपर्छ ।

नेपाली सेयर बजारको ‘फ्रन्ट लाइन रेगुलेटर’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अवस्था कस्तो छ भनेर जाँच्न मन लाग्यो भने न्यूयोर्क स्टक एक्सचेन्ज, हङ्कङ् वा सिङ्गापुरका सेयर बजारसँग दाँजेर खासै बस्तुगत तथ्य पत्ता लाग्दैन । यी सेयरबजारहरु र नेप्सेबीच देखिने ठूलो खाडललाई उल्लेख्य रुपमा नलिए पनि हुन्छ ।

जब आफु जस्तै अर्थ राजनीति र समाज बिकासको चरणमा रहेको बजारसँग पनि धेरै पछि परिन्छ, तब लाजले मुख लुकाउनु पर्ने हुन्छ । अब कसले मुख छोपेर बस्नु पर्ने हो, त्यो सोच्ने जिम्मा उसैलाइ दिउँ ।

दक्षिण एसियाकै बिकाशोन्मुख देशहरु बंगलादेश, श्रीलङ्का वा पाकिस्तानका सेयर बजारसँग तुलना गर्ने हो भने थाहा हुन्छ हामी हुनुपर्ने भन्दा कति तल छौं भनेर ।

बजारको कुल पूँजीकरण, सुचिकृत कम्पनीको बिबिधिकरण, प्रबिधि, लगानीकर्ताको चेतनास्तर, नियम तथा कानुन आदि मापडण्डका आधारमा सेयर बजारहरुकाबीच तुलना गर्न सकिन्छ ।

तर, कहिलेकाँही अनौठो लाग्ने मापडण्डले तुलना गर्दा केही गम्भीर तथ्य उजागर हुन्छन् । उदाहरणको लागि नेप्सेको कार्यालय रहेको भबनको तुलना दक्षिण एसियाकै अरु बिकाशोन्मुख देशहरु जस्तै बंगलादेश, श्रीलङ्का र पाकिस्तानका सेयर बजारहरुको कार्यालय रहेको भबनसँग गर्न सकिन्छ ।

नेपाली पूँजी बजारको ‘फ्रन्ट लाइन रेगुलेटर’ नेप्सेको कार्यालय सामान्य मानिस बस्ने घर जस्तो देखिन्छ । भबनमा रातो ईंटाको गारो छ भने पहिलो तल्लाको टपमा टायलहरु हार मिलेर राम्रोसँग बसेका छैनन् । १५–२० लाख लगानी गरेर खोलिने पसलले समेत बत्ती बल्ने साइनबोर्ड वा बत्ती भित्रै हुने अक्षरहरु जोडेर साइनबोर्ड बनाउने अवस्थामा ‘नेपाल स्टक एक्सचेञ्ज’ लेखेको टिनको बाक्सामा इनामेलले लेखेको र्बोड झुन्ड्याएर बसेको छ नेप्से ।

श्रीलंकाको सेयर बजार भने कोलम्बोको समुद्री किनारस्थित अत्याधुनिक गगनचुम्बी महलमा छ । लामो गृहयुद्ध पछि भर्खरै प्रगतिको बाटोमा लम्कन थालेको श्रीलंकाको सेयर बजारको सांकेतिक अभिब्यक्ती यो भवनले दिन्छ ।

झ्यालका खापा र चौकोसहरु पुराना र सामान्य मानिसको घरको जस्तो छ । यस्तो लाग्दैन कि यो बजार करीब १६ अर्ब डलरको सेयर कारोबार हुने बजार हो । अझ यो कम्पनी नेपालको सबैभन्दा बढि नाफा कमाउने सरकारी कम्पनी मध्येको एक हो भन्ने कुरा त झन् पत्याउनै सकिदैंन । तर सत्य यही हो ।

श्रीलंकाको सेयर बजार भने कोलम्बोको समुद्री किनारस्थित अत्याधुनिक गगनचुम्बी महलमा छ । लामो गृहयुद्ध पछि भर्खरै प्रगतिको बाटोमा लम्कन थालेको श्रीलंकाको सेयर बजारको सांकेतिक अभिब्यक्ती यो भवनले दिन्छ ।

नेपालको जस्तै राजनीतिक अस्थिरता र धार्मिक अतिबादको भूमरीमा फसेको बंगलादेशको सेयर बजार नरिवलका रुखहरुका बिच सुन्दर आर्किटेक्चर भएको भवनमा छ ।

सेयरबजार भनेको पूँजीबादको उच्चतम अभिब्यक्ति हो । र, पूँजीबादले बैभवलाई अभिब्यक्त गर्छ । अब कसको बैभव भन्नेमा भने ठूलै बिवाद छ ।

तीनवटा सेयर बजार रहेको पाकिस्तानका सेयर बजारहरु पनि आधुनिक भवनमा छन् । आखिर पाकिस्तान पनि आतंकवादको चपेटामा फसेको देश न हो । तर, इस्लामावाद स्टक एक्सचेञ्च बाहिर सिसै सिसाले ढाकिएको अग्लो कर्पोरेट भवनमा छ । कराँची स्टक एक्सचेन्ज पनि कम छैन । अग्लो भवनमा छ । साइनबोर्ड सबैभन्दा माथि छतमा बत्ती बल्ने अक्षरहरु जोडेर बनाइएका छन् । हाम्रोमा जस्तै गरी टिनको बाक्सामा इनामेल पोते जस्तो होइन ।

वास्तबमा, कति कुराहरुले आफैंमा खासै अर्थ राख्दैनन् । तर, सांकेतिक महत्व भने ठूलो हुन्छ ।

नेप्सेका महाप्रबन्धक सीताराम थपलिया र उनका कर्मचारीलाई टाउको लुकाउनलाई भवन त छँदैछ । खुइलेको वा जोर्नीहरु कमजोर भएका टेबुल कुर्सीहरु पनि छँदैछन् । वरिपरी रुख, बोट, बिरुवा रोपे पनि त्यसले नेप्से टीमको उत्पादकत्व बढाउने त होइन । टुकुचाबाट आएको दुर्गन्ध छेक्न मक्किएकै भए पनि खापा र चौकोस छन् । वास्तबमा भन्ने हो भने काम गर्न चाहे भवनको यो हालतले खासै फरक पार्दैन भन्ने तर्क गर्न सकिएला । तर, यसको सांकेतिक महत्व भने ठूलो छ ।

समाजवाद आउँछ, अनि नेप्सेको बोर्ड र टेबुल कुर्सी टुकुचाका बगाएर त्यो घरलाई फलफुल तथा तरकारी बजार बनाउला भनेर कुरेर बस्ने त होइन होला ।

सेयरबजार भनेको पूँजीबादको उच्चतम अभिब्यक्ति हो । र, पूँजीबादले बैभवलाई अभिब्यक्त गर्छ । अब कसको बैभव भन्नेमा भने ठूलै बिवाद छ ।

पूँजीबादको वकालत गर्नेहरुले ‘क्षमता भएकाको’ बैभव भन्छन् । र, सबै मानिसको भाग्य बजारको हातमा छोडिदिनु पर्ने वकालत गर्छन् । ‘पूँजीबादले कस्तो बैभव दिन सक्छ भन्ने जान्न हङ्कङ् हेर्नु पर्छ’ पूँजीबादी अमेरिकी अर्थशास्त्री मिल्टन फ्राईडम्यान भन्छन् । उनीहरु पूँजीबाद मानव सभ्यताकै अन्तिम र निर्विकल्प ब्यवस्था भएको कुरामा बिश्वस्त छन् ।

तर, मानव समाज बिकासक्रमको सम्भवतः सबैभन्दा समष्टिगत तस्विर खिच्ने महान दार्शनिक कार्ल माक्र्सका अनुयायीहरु भने पूँजीवादलाई समाज बिकास प्रकृयाको एउटा चरण मात्र मान्छन् । जसमा केही सिमित ब्यक्तिहरुले उत्पादनका साधनहरुको नियन्त्रण गर्छन् । र, पूँजीबादको पूर्ण बिकास पश्चात् यो ब्यवस्थाले आफ्नो चिहान आफैं खन्न शुरु गर्छ ।

पूँजीबादको पक्ष वा बिपक्षमा चर्चा गर्न खोजिएको होइन । तर, पूँजीबादको पक्ष वा बिपक्षमा हुने दुवै थरिले स्विकार गर्नै पर्ने तथ्य के हो भने पूँजीबादको उच्चतम अभिब्यक्ति सेयर बजार हो ।

पूँजीबादको पक्षमा हुनेहरुले पनि आफूले निकै बिश्वास गरेको र निर्बिकल्प मानेको ब्यवस्थाको बिम्ब अग्लो र आधुनिक कर्पोरेट भवनको रुपमा सहरको सबैभन्दा महत्वपूर्ण ब्यवसायिक ठाँउमा शिर ठाडो पारेर र छाती फुलाएर खडा होस् भनेर सोच्ने नै भए । अझ अहिले त झन, नेपाल सामन्ती युगबाट अघि बढेर पूँजीबादी युगमा पूर्णरुपमा प्रवेश गरिसकेको छ भन्ने बुद्धिजिबीहरुकै बाहुल्यता छ ।

पूँजीबादको बिपक्षमा हुनेहरुका लागि पनि पूँजीबादको बिम्बको रुपमा खडा हुने अत्याधुनिक भवन आवश्यकताकै चिज हो । उनीहरुको दर्शन अनुसार पूँजीबादले आफ्नो चिहान आफैं खन्छ भने त्यो खन्नका लागि नै पनि पूर्ण रुपमा बिकास हुनै पर्यो ।

सन् २००७ मा बिश्वब्यापी मन्दीले जब पूँजीबाद माथि प्रहार ग¥यो, तब सबैभन्दा पहिले अमेरिकाको वाल स्ट्रिटको जग हल्लियो । भारतीय पूँजीबाद धरापमा परे सबैभन्दा पहिले मुम्बई स्टक एक्सचेन्जको जग हल्लिने हो, धराभी जस्तो सुकुम्बासी बस्तीकोे होइन । पूँजीबाद ढल्दै गरेको रोचक दृश्यको आनन्द उठाउनकै लागि भए पनि बैचारिक रुपमा बाँया ढल्केको सासकले पनि नेप्सेको घर चाँहि अग्लो बनाउनै पर्छ ।

समग्रमा भन्दा जुनसुकै बिचारधाराको भए पनि सेयर बजारको बिकास अपरिहार्य छ । दुई वटा डुङ्गामा खुट्टा राखेर कही पनि पुँगिदैन । समाजवाद आउँछ, अनि नेप्सेको बोर्ड र टेबुल कुर्सी टुकुचाका बगाएर त्यो घरलाई फलफुल तथा तरकारी बजार बनाउला भनेर कुरेर बस्ने त होइन होला ।

कुनै पनि संस्था वा चिज स्थापित हुन वा सकिन त्यसको पूर्ण बिकास जरुरी हुन्छ । संधैको अन्तरिम जस्तो यता न उता को स्थितिले कँहि पु¥याउँदैन ।