आइएमएफले भन्यो, आर्थिक बृद्धिदर ५.५ प्रतिशतमात्र



काठमाडौंः अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।  सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ ।

राष्ट्र बैंकले हालै जारीको आर्थिक स्थितिको प्रतिवेदनमा धान उत्पादन बढ्दा लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हुने अनुमान सार्वजिनक गरेको थियो । नेपाल भ्रमणमा आएको आइएमएफको आट्रिकल फोर मिसनले भ्रमणपछि जारी गरेको विज्ञप्तीमा अघिल्लो वर्षको तुलनामा नेपालको आर्थिक अवस्थामा सुधार आउँदै गएको जनाएको छ ।
भारतले १००० र ५०० दरको नोटमा लगाएको प्रतिबन्धको नेपालमा असर सिमित पर्ने अनुमान आइएमएफले गरेको छ ।

टोलीका प्रमुख ग्रिट अलम्येकिन्ट्रसले नेपालले यो वर्ष ठूलो आकारको र महत्वकाक्षीं बजेट ल्याएपनि खर्चको अवस्थामा भने सुधार आउन नसकेको बताए । ‘ वास्तविकतामा रहेर बजेट ल्याउनका लागि हामी सुझाव दिन्छौ,जसले आर्थिक बृद्धिदरलाई बढाउन मद्दत गर्छ’,उनले भ्रमण सकेपछि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने ।

आइएमएफबाट हरेक वर्ष आर्टिकल फोर मिसन नेपालमा आउने गर्छ । मिसनले नेपालको समग्र अर्थतन्त्रको बारेमा अध्ययन गरेर मुख्यालयमा प्रतिवेदन बुझाउने छ । टोलीले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तथा राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल सहित उच्च सरकारी अधिकारीलाई भेटेको थियो ।

मिसनले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ल्याएको ब्याजदर करिडोरको अवधारणालाई स्वागत गरेको छ । ‘ वित्तीय स्थायित्वको लागि ब्याजदर करिडोर राम्रो बिकल्प हो , आइएमएफले विगतमा यस्तो करिडोर ल्याउनको लागि सुझाव दिएको थियो,’ टोली प्रमुख अलम्येकिन्ट्रसले भने ।

मिसनले अघिल्लो वर्षको भन्दा मुल्यबृद्धि घटेको तथा नेपालको बाह्य क्षेत्रको स्थिति सुरक्षित रहेको जनाएको छ । नेपाल र भारतबीचको मुल्यबृद्धिको अन्तर घटाउन सरकारलाई सुझाव दिएको छ ।

सरकारले भूकम्पपछिको पुननिर्माणमा ध्यान दिन नसकेको भन्दै टोलीले छिटो पुननिर्माणको काम थाल्न भनेको छ । अर्थतन्त्रमा मुख्य समस्या नै विकास खर्च हुन नसक्नु रहेको भन्दै आइएमले खर्च बढाउन सुझाव दिएको छ ।


क्लिकमान्डु