कुल निर्यातभन्दा गाडी आयात बढी



काठमाडौंः नेपालबाट हुने कुल निर्यातभन्दा गाडी आयात बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा नेपालले जम्मा ३० अर्ब रुपैयाँको बस्तु निर्यात गरेको छ । मंसिर मसान्तसम्ममा ३७ अर्ब रुपैयाँ गाडी आयातको लागि बिदेशिएको छ ।

अघिल्लो वर्षको तुलनामा यो पटक गाडीको आयात ह्वातै बढेको छ । अघिल्लो वर्ष नाकाबन्दीले गर्दा गाडी आयात नभएपनि यो वर्षको शुरुवातदेखि नै गाडीको आयात बढी छ । पेट्रोलियम पदार्थको आयात मंसिर मसान्तसम्ममा ३८ अर्ब रुपैयाँको भएको छ भने गाडीको त्यसपछि पर्छ ।

टायर र त्यसमा प्रयोग हुने ट्युव पाँच महिनामा २ अर्ब ३८ करोड रुपैयाँको भित्रिएको छ । यस आधारले हेर्दा गाडी तथा तिनको पार्टपुर्जा मात्र पाँच महिनाको अवधीमा ४० अर्बभन्दा बढी आएको देखिन्छ ।

गाडी अत्याधिक आयात भएसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीपनि यसमै केन्द्रीत भएको देखिन्छ । हायर पर्चेज शिर्षकमा अत्याधिक कर्जा गएको भन्दै केन्द्रीय बैंकले यसलाई पनि जोखिम पूर्ण मानेको छ । पाँच महिनाको अवधीमा हायर पर्चेज शिर्षकमा मात्र २६ अर्ब रुपैयाँको कर्जा गएको छ । बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म यसमा १ खर्ब ३६ अर्ब रुपैयाँ प्रवाह गरेका छन् ।

सरकारले निर्यात बढाउनको लागि विभिन्न कार्यक्रम ल्याएपनि निर्यात व्यापारमा भने सुधार आउन सकेको छैन । अघिल्लो वर्ष नाकाबन्दीको कारण व्यापारमा समस्या भएपनि यो वर्ष निर्यातमा त्यती सुधार आएको छैन । दुईवर्ष अगाडिको तुलनामा निर्यात व्यापारमा घटेको छ ।

पाँच महिनाको अवधीमा नेपालमा बस्तु आयातको लागि ३ खर्ब ८२ अर्ब रुपैयाँ बिदेशिएको छ । मंसिर सम्ममा नेपालको व्यापारघाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु