एमबीबीएस सकेर बेरोजगार हुनुहुन्छ ? स्वास्थ्य मन्त्रालयमा १०० जनालाई अबसर




काठमाडौं । तपाईँले एमबीबीएससम्मको अध्ययन सक्नुभएको छ, तर रोजगार पाउनुभएको छैन ? त्यसो भए तपाईँका लागि स्वास्थ्य मन्त्रालयमा रोजगारीको अबसर छ ।

स्वास्थ्य मन्त्रालयले १०० जना मेडिकल अफिसर लागि दरखास्त आह्वान खोल्दैछ । स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा केहीदिन अघिको मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई १०० जना मेडिकल अफिसर भर्ना गर्न स्वीकृति दिएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार स्वास्थ्य मन्त्रानलयले यसैहप्ता १०० जना डाक्टरका लागि दरखास्त आह्वान गर्ने मन्त्री थापाले क्लिकमाण्डूलाई जानकारी दिए ।

गाउँ-गाउँसम्म स्वास्थ्य सेवा पुर्याउने अभियान अन्तगर्त डाक्टरहरुको संख्या थप्न लागिएको उनले बताए ।

‘कुनैपनि नागरिकले स्वास्थ्य उपचार गर्न नपाएर ज्यान गुमाउनु नपरोस् भनेर हामी ७५ वटै जिल्लामा इमरजेन्सी अपरेसन सेवा सञ्चालन गर्दैछौं, त्यसका लागि डाक्टर चाहिने भएकाले डाक्टर थप्न लागिएको हो ,’ मन्त्री थापाले भने ।

तर मन्त्रालयले अहिले थप्ने डाक्टर स्थायी भने होइन । रिक्त रहेका दरबन्दीमा करारमा नयाँ डाक्टर थप्न लागिएको हो । करार अवधि ६ महिना देखि १ वर्षको हुनेछ ।

रिक्त रहेको दरबन्दीमा लोकसेवा आयोगले परिक्षा लिएर भर्ना नगरेसम्मका लागि अहिले नियुक्त भएका करारका डाक्टरले काम गर्न पाउने छन् ।

यसरी करारमा लिइएका डाक्टरहरुलाई जहाँ खाली हुन्छ त्यहाँ पठाइनेछ । जिल्ला अस्पताल नभएका ठाउँहरुमा जिल्ला जनस्वास्थ्य कार्यालयमा पोष्टिङ गरिने मन्त्रालयले जनाएको छ ।

‘कराडमा मेडिकल अफिसर लिएपछि देशभरका कुनैपनि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन हुने छैनन्,’ मन्त्री थापाले भने ।

आठौं तहका मेडिकल अफिसरको तलब ३० हजार रुपैयाँ हुने छ । तर, दुर्गममा खटिनेहरुले उल्लेख्यमात्रामा दुर्गम भत्ता पाउने छन् ।

यो पनि पढ्नुहोस्- स्वास्थ्य मन्त्रालयमा जस्तो बेथिति अन्यत्र छैन होलाः स्वास्थ्यमन्त्री  


पुष्प दुलाल