स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई तरलता अभाब हो र ?




काठमाडौैं । सिभिल बैंकले १११ दिने मुद्दति निक्षेपमा ११.११ प्रतिशत ब्याज दिने भन्दै सार्वजनिक सुचना प्रकाशित गर्यो । त्यही समयमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले साढे ७ प्रतिशत ब्याजदरमा घर बनाउने कर्जा दिने सार्वजनिक सुचना प्रकाशित गर्यो ।

यी दुई उदाहरणले सिभिल बैंकलाई तरलता चाहिएको र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा लगानीयोग्य रकम प्रसस्त भएको अनुमान लगाउनु पर्ने हुन्छ ।

तर मंगलबारको नतिजा फरक आयो । सो दिन राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रवाह गर्नको लागि नेपाल राष्ट्र बैंक ऋण पत्र किन्ने निर्णय गर्यो । बैंकहरुले सो बराबरको ऋणपत्र राष्ट्र बैंकमा धितो राख्लान र पैसा लैजालान् भन्ने अनुमान राष्ट्र बैंकको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीका अनुसार सो दिन जम्मा २७ ओटा बिड परेका थिए । यसबाट ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री गरेर तरलता लिन बैंकहरु तयार थिए ।

अनौठो यस्तो भयो कि सो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकले मात्रै राष्ट्र बैंक ऋणपत्र विक्री गरेर पैसा लग्यो । तरलता कमी भयो भन्ने संकेत नमिलेको र ब्याजदर पनि खासै नबढाएको बैंकले ऋणपत्र विक्री गरेर तरलता लिनु र कमी भयो भन्दै ब्याजदर बढाउने बैंकले रकम नलिनुलाई अनौठो संयोगको रुपमा हेर्नुपर्ने हुन्छ ।

अन्य बैंकहरुले अन्तर बैंक ब्याजदरभन्दा कम ब्याज प्रस्ताब गरेकोले ऋणपत्र खरिद गर्न नसकिएको कार्यकारी निर्देशक पंगेनीले जानकारी दिए ।

‘आजको अन्तरबैंक ब्याजदर ३.७४ प्रतिशत छ, त्योभन्दा कम प्रस्ताव गर्ने बैंकलाई दिन सकिने भएन, त्योभन्दा माथिको ब्याजदर एउटा बैंकले मात्रै प्रस्ताव गरेकोले उसैले मात्रै लग्यो,’ पंगेनीले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले राष्ट्र बैंक ऋणपत्र विक्री गरेर १ अर्ब ५३ करोड रुपैयाँ लगेको छ ।


क्लिकमान्डु