संस्थागत निक्षेप थप्ने हो ? राष्ट्रिय बीमा कम्पनीले १ अर्ब निक्षेप राख्दैछ




काठमाडौं । तरलता अभावको कारण देखाउदै बैंकहरुले मुद्धती निक्षेपमा ब्याज बढाइरहेको समयमा राष्ट्रिय बीमा कम्पनीले त्यसको फाइदा लिने ‘ट्रिक’ अपनाएको छ ।

मुद्दती निक्षेपमा ब्याजदर बढेपछि फाइदा लिन कम्पनीले आफ्नो ‘कल एकाउन्ट’मा रहेको रकम मुद्दतीमा राख्ने भएको हो ।

विभिन्न बैंकहरुको कल एकाउन्टमा रहेको लगानीयोग्य रकम त्यस्तो खाताबाट झिकेर मुद्दतीमा राख्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले जानकारी दिए ।

‘बिभिन्न बैंकहरुमा रहेको कल एकाउन्टको रकम मुद्दतीमा राख्न लागिएको छ, कलमा ब्याज कम आउने र मुद्दतीको ब्याज निकै बढेकोले यस्तो गर्न लागिएको हो,’ प्रमुख कार्यकारी अधिकृत रायमाझीले क्लिकमाण्डुसँग भने ।

उनका अनुसार कम्पनीले करिब १ अर्ब रुपैयाँ मुद्धती निक्षेपमा राख्न लागेको छ । यसको लागि बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुसँग प्रस्ताब मागिएको उनले जानकारी दिए ।

‘हामीसँग करिब १ अर्ब रुपैयाँ छ, एक बर्षे मुद्दतीमा राख्ने हो, कति ब्याज दिन सक्छौं, त्यसको प्रस्ताब ल्याउ भनेर बैंकहरुसँग प्रस्ताब मागेका छौं,’ उनले भने ।

कम्पनीले पुस २९ गते सार्बजनिक सुचना प्रकाशित गरेर प्रस्ताब मागेको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आगामी माघ ६ गते ३ बजेभित्रमा कम्पनीमा प्रस्ताब बुझाइ सक्नु पर्नेछ ।

बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा रकम राख्ने आफ्नै प्रक्रिया भएकोले सोही अनुसारको रकम राखिने रायमाझीले जानकारी दिए । यस्तो रकम राख्दा ब्याजदर, कम्पनीको अबस्था जस्ता विषयलाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ ।

अहिले बैंकहरुमा तरलताको चरम अभाव छ । अभाबकै कारण बैंकहरुले संस्थागत निक्षेपको मुद्दतिमा १२ प्रतिशतसम्म ब्याज दिन थालेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले जानकारी दिए ।

यस्तै ब्यक्तिगत रकमको पनि १०० दिने मुद्दती निक्षेपमा बैंकहरुले औसतमा १० प्रतिशत जति ब्याज दिन थालिसकेका छन् । जनता बैंकले १०० दिने मुद्दतीमा १० प्रतिशत, मेगा बैंकले १०० दिने मुद्दतीमा १० प्रतिशत र सिभिल बैंकले १११ दिने मुद्दतिमा ११.११ प्रतिशत ब्याज दिने सार्बजनिक सुचना प्रकाशित गरिसकेका छन् ।


क्लिकमान्डु