अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय




काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा नियन्त्रणको लागि सक्रिय भएर लाग्ने जनाएको छ । विभागको अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा विभागका महानिर्देशक चुडामणी शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन नियममा भएका व्यवस्थाहरुलाई परिपालना गर्न सचेतनामूलक कार्यक्रम मार्फत् सचेतनामा अभिवृद्धि गरी सुधार गर्ने कार्यमा जोड दिइने बताए ।

उनले ऐन नियममा भएका व्यवस्थालाई अटेर गरी मदिराजन्य पदार्थको उत्पादन, पैठारी, ओसारपसार तथा बिक्री वितरण गरेको पाइएमा हदैसम्मको कारवाही गरिने बताउदै राजस्व असुली, जनस्वास्थ्य र सामाजिक सदाचारितास“ग प्रत्यक्ष सरोकार रहने मदिराजन्य पदार्थहरुको अवैध कारोवार नियन्त्रण गर्न सम्पूर्ण प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, विभागले तोकेका राजमार्गका क्षेत्रमा मदिराजन्य व्यवसाय गर्नेले मदिरा र सूर्तीजन्य वस्तु वाहेक अरु व्यवसाय गर्न पाउने छैनन्, विक्रेताले सवै कर समावेश भएको अन्तिम मूल्यसूची सवैले देख्ने गरी राख्नुपर्ने छ, देशका विभिन्न भागमा हुने मेला, प्रदर्शनी, महोत्सवमा सहभागी हुने व्यवसायीले अस्थायी रुपमा अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गर्नुपर्ने छ,’ उनले भने ।

विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलले मदिरा व्यवसायीहरुबाट उठेका जायज विषयहरुलाई नीतिगत रुपमा सुधार गर्दै लैजाने र अन्तःशुल्क टिकटमा रहेको समस्यालाई समाधान गर्दै जाने बताए । सुरक्षा निकायका प्रतिनिधिले ट्राफिक व्यवस्थापनका कारण कार्यालय समयमा सामान बोक्ने सवारी साधनलाई केही असहज स्थिति भएको र त्यसलाई व्यवस्थित गर्ने प्रयासमा आफूहरु रहेको जानकारी दिएका थिए । कार्यक्रममा सहभागीहरुले व्यवसाय सञ्चालन प्रकृयामा सरलीकृत गरिदिन आग्रह गरेका थिए


क्लिकमान्डु