नेप्से संचालक समितिले खारेज गरिदियो बैंकलाई ब्रोकर लाइसेन्स दिने सिफारिस



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ब्यवस्थापनले बैंकलाई ब्रोकरको लाइसेन्स दिने लगायतका विषयमा गराएको अध्ययन प्रतिबेदन नेप्से संचालक समितिले फिर्ता गरिदिएको छ ।

अध्ययनले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सिफारिस गरेको तर विद्यमान कानुनले सो कुरा गर्न नमिल्ने ब्यवस्था गरेकोले सो सिफारिस खारेज गरिएको नेप्सेका अध्यक्ष रामजी रेग्मीले जानकारी दिए ।

‘बैंकहरुलाई नियमन गर्ने राष्ट्र बैंकले हो, राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा बैंकले मर्चेन्ट बैंकिङ र लघुवित्त बाहेकका काम गर्ने सहायक कम्पनी खोल्न नपाउने ब्यवस्था गरेकोले त्यो सिफारिस कानुन विपरित देखियो, त्यसैले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय खारेज गरियो,’ अध्यक्ष रेग्मीले क्लिकमाण्डूसँग भने ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने बाहेकका सिफारिस परिमार्जन गरेर पेश गर्न नेप्से ब्यवस्थापनलाई बोर्डले निर्देशन दिएको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने बाहेकका अन्य विषय पनि कानुन विपरित देखिएकोेले परिमार्जन गर्न भनिएको उनको भनाइ छ ।

‘कतिपय सिफारिस हामीभन्दा माथिल्लो निकायमा पेश गर्न पनि लाज लाग्ने खालका छन्, कानुन विपरितको सिफारिस गरिएका विषय माथिल्लो निकायमा पेश गर्दा अधिकारीहरु हास्छन्, त्यसैले परिमार्जन गरेर ल्याउनुस् भनेका छौं,’ अध्यक्ष रेग्मीले भने ।

यस्तै ब्रोकरको शाखा विस्तारको लागि धितोपत्र वोर्डसँग सहमति माग्ने निर्णय नेप्सेले गरेको छ । केही ब्रोकर कम्पनीहरुले शाखा विस्तारको लागि नेप्सेमा निवेदन दिएका छन् । ‘ब्रोकरको शाखा विस्तारको लागि धितोपत्र बोर्डसँग सहमति माग्ने निर्णय भएको छ,’ नेप्सेका अर्का एक संचालकले क्लिकमाण्डूसँग भने । नेप्से संचालक समितिको बैठक मंगलबार विहान बसेको हो ।

यो पनि पढ्नुहोस् – अहिलेको कानुनले मिल्दैन, कुनै गृहकार्य भएको छैनः राष्ट्र बैंक 


क्लिकमान्डु