विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ कम्पनी स्थापना हुने



काठमाडौँ । ऊर्जा क्षेत्रको विकासका लागि सरकारले विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ परामर्श कम्पनी स्थापना गर्ने भएको छ ।

बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई महत्वपूर्ण कम्पनी स्थापना गर्ने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।

उनले इन्जिनियरिङ परामर्शको नाममा बर्सेनि करोडाँै रकम विदेशीले लैजाने गरेको अवस्थालाई अन्त्य गर्न इन्जिनियरिङ कम्पनी र विद्युत् व्यापारसँग जोडिएका सबै विषयमा काम गर्न विद्युत् व्यापार कम्पनी स्थापना गर्न लागिएको बताए ।

जलविद्युत् क्षेत्र एकदमै प्राविधिक विषय भएकाले यस सम्बन्धी सुक्ष्म अध्ययन गर्नका लागि सर्वाधिकार सम्पन्न इन्जिनियरिङ कम्पनीको आवश्यकता रहेकोप्रति सरोकारवालाले विगत लामो समयदेखि सरकारलाई आग्रह गर्दै आएका थिए ।

मन्त्री शर्माले इन्जिनियरिङ कम्पनी स्थापनाका लागि मन्त्रालयले आवश्यक प्रक्रिया सुरु गरिसकेको पनि बताए ।

विद्युत् व्यापार कम्पनीले विद्युत् व्यापार, विद्युत्को मूल्य तथा त्यससँग जोडिएका सबै व्यापारिक विषयमा काम गर्नेछ । सरकारले यसअघि राष्ट्रिय प्रसारण कम्पनी र विद्युत् उत्पादन कम्पनी स्थापना गरी त्यसको प्रमुख कार्यकारी अधिकृतसमेत नियुक्त गरिसकेको छ । रासस


क्लिकमान्डु