बस भित्रको वाइफाइ ‘नाम मात्रै’



wifi_in

काठमाडौं । देशभर चल्ने लामो वा छोटो दुरीको बसमा ‘फ्रि वाइफाइ सेवा’ लेखेको देखिनु सामान्य जस्तो भइसक्यो । बसको अघिल्तिरै सबैले देख्ने गरी इन्टरनेटका राउटर पनि झुन्डिएकै छन् । आफ्नो हातको मोबाइल वा ल्यापटपमा इन्टरनेट चलाउँदै यात्राको मजा लिने मुडमा हुनुहुन्छ ? तर तपाईलाई धोका हुन सक्छ ।

बस संचालकहरुले प्राय सबै बसमा वाइफाइ, थ्रिडी, एसीलगायतका सुविधा रहेको भनेर आक्रामक प्रचार गरे पनि सेवा प्रभावकारी हुन सकेको छैन् । ‘कुनै बेला भिडियो कोच लेखेको बसका टेलिभिजन बक्समा सिरक-डसना कोचिन्थे । आजकल वाइफाइको हालत त्यस्तै छ ।’ एकजना यात्रुले ठट्टा गर्दै भने ।

यस्ता बसहरूले नेपाल टेलिकमको वाइम्याक्स र एनसेलको थ्रि जी इन्टरनेटबाट वाईफाई दिन सुरू गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब दिनेश सिटौला समेत प्रचार अनुसार वाइफाइ प्रभावकारी हुन नसकेको स्वीकार्छन् । ‘सडक असुरक्षित हुनु, एनटीसी तथा एनसेलको सिग्नल सबै स्थानमा नटिप्नु कारण हो’ सिटौलाले भने ।

गण्डकी यातायात व्यवसायी संघका काठमाडौं प्रमुख गणेश ढकाल भन्छन्’ प्रायः बसहरुमा वाइफाइ सेवा उपलब्ध रहे पनि सेवा प्रदायक कम्पनीको सीपीई डिभाइस र शुल्क महंगो भएकोले समस्या भएको छ ।’

राजमार्गमा उपलब्ध हुने टेलिकमा थ्री जि नेटवर्कको कभरेकभित्र यस्तो इन्टरनेट चलाउन मिल्छ । सबै ठाउँमा थ्रि जी नेटवर्क राम्रो छैन् । इन्टरनेट डेटा रिसिभ गर्न बस सञ्चालकले कस्टुमर प्रेमिसेज इक्विपमेन्ट (सीपीई) डिभाइस किन्नु पर्दछ ।

वाइम्याक्सले प्याकेज हटायो

सुरूमा २५६ केबी प्रतिसेकेन्डको वाइम्याक्स इन्टरनेट प्याकेजमा अनलिमिटेड डाटामा दिएको नेपाल टेलिकमले पछि यसलाई निरन्तरता दिएन् । ‘भोलुम बेस्ड’ इन्टरनेट यात्रुलाई दिँदा निकै महंगो पर्ने भएकाले पनि बस सञ्चालकलाई निरन्तरता दिन मुस्किल परेको हो ।

कतिपय बसहरूले भने महंगो नै परे पनि भोल्यूम वेस प्याकेजमा सेवा दिइरहेको नेपाल टेलिकमकी प्रबक्ता प्रतिभा वैद्यले बताइन ।

टेलिकमकै हट स्पट

साझा यातायात, पर्यटक बस, अस्पताल, विमानस्थल लगायतका क्षेत्रमा टेलिकम आफैले वाइफाइ हट स्पट सञ्चालन गरेको छ । हटस्पट मार्फतको इन्टरनेट भने यात्रुले निशुल्क प्रयोग गर्न पाउँदैनन् ।

हटस्पटको वाइफाई प्रयोग गर्न नेपाल टेलिकमको मोबाइबाट ब्यालेन्स काटिने गरी न्यूनतम् १ घन्टाको सेवा किन्नु पर्दछ । साझा बसमा एक घन्टाको प्याकेज किन्नुभयो र तर तपाई १५ मिनेट मात्र यात्रा गर्नुभयो भने ४५ मिनेटको लागि तिरेको रकम खेर जान्छ । यस्तो वाइफाई सेवाको जिम्मेवारी भने बस सञ्चालकको नभइ टेलिकमकै हुन्छ ।


क्लिकमान्डु