रोबोटद्धारा आँखाको शल्यक्रिया



eye-operation
डच कम्पनीले निर्माण गरेको रोबोटको सहायताले पहिलो पटक आँखाको भित्रि भागको शल्यक्रिया गर्न चिकित्सा विज्ञानको क्षेत्रले सफलता हात पारेको छ ।

अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा भएको उक्त शल्यक्रियामा रोबोटले ७० बर्षिय पादरी बिल विबरको आँखामा लागेको एक मिलिमिटरको पनि सैयौं भागको पत्रलाई शल्यक्रिया गरेर हटाएको थियो । मानिसको हातले गर्ने शल्यक्रियाको तुलनामा रोबोटले धेरै मसिना काम सफल बनाउन सकेको कारण रोबोट मार्फत् चिकित्सा विज्ञानको क्षेत्रमा नयाँ ढोका खोलिएको छ ।

जोयस्टिकवाट नियन्त्रण गरिएको रोबोटलाई अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर रोबर्ट मैकलर्नले सियो प्रबेश गराएका थिए । रोबर्टले टचस्क्रिन र माइक्रोस्कोप मार्फत् हेरेर शल्यक्रिया सम्पन्न गरेका थिए । आँखाको पछिल्लो भागवाट गरिने यो शल्यक्रिया चिकित्सा विज्ञानको क्षेत्रमा मानिसले गर्दा पनि जटिलनै मानिन्छ भने रोबोटवाट गर्दा विशेष सावधानी अपनाउनु पर्ने प्रोफेसर रोबर्ट बताउँछन् ।

सामान्य शल्यक्रियाहरूमा रोबोटको प्रयोग भएपनि जटिल किसिमका शल्यक्रियामा रोबोटलाई यसअघि प्रयोग गरिएको थिएन । यो सफलताले गर्दा चिकित्सा बिज्ञानको क्षेत्रमा पनि रोबोट सफल हुने अनुमान गरिन थालेको छ ।


क्लिकमान्डु