सरकारी कार्यालयमा धमाधम ‘भिडियो कन्फ्रेन्सिङ’



confre

काठमाडौं । सरकारी कार्यालयहरू क्रमशः प्रविधि मैत्री बन्दै गइरहेका छन् । नीति, निर्देशन तथा दैनिक गतिविधिका बारेमा जानकारी दिन भिडियो कन्फ्रेन्स सेवा प्रयोग गर्ने सरकारी कार्यालयको संख्या ३४ पुगेको छ ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा रहेका केही मन्त्रालय तथा अन्य कार्यालयहरूले देशका विभिन्न कार्यालयहरूलाई निर्देशन तथा दैनिक गतिविधि बारे जानकारी लिन-दिन यो प्रविधिको प्रयोग गर्न थालेका हुन् ।

सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले उपलब्ध गराएको यस्तो सेवा प्रयोगमा ल्याउने कार्यालयहरुको संख्या बढिरहेको केन्द्रका प्रवक्ता रमेशप्रसाद पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयबाट सुरु भएको यस्तो सेवा अहिले अरू मन्त्रालय र अन्तरगतका निकायले पनि प्रयोग गर्न थालेका छन् । प्रधानमन्त्री कार्यालय, परराष्ट्र, अर्थ, सामान्य प्रशासन, विज्ञान प्रविधि, स्वास्थ्य, सूचना तथा संचार, उर्जा, रक्षा, गृह, कानुन, कृषि, उद्योग लगायतका मन्त्रालयले यस्तो सेवा सुरु गरिसकेका छन् ।

कार्यालयको बैठक, सानातिना कार्यक्रम तथा विदेशमा हुने सभा समारोह तथा कार्यालयलाई दिइने निर्देशनमा व्यक्ति स्वयं उपस्थित हुन नसके भिडियो मार्फत नै गरिने दोहोरो कुराकानी भिडियो कन्फ्रेन्स हो । इन्टरनेट र क्यामेराको प्रयोग गरी एउटै कोठामा बसेर देशभरका क्षेत्रीय,जिल्ला देखि स्थानीय तहका कार्यालयमा सजिलै साक्षात्कार गर्न सकिन्छ यस्तो प्रविधिबाट ।

नीजि कम्पनी, कर्पोरेट हाउस तथा संघसंस्थाले यस्तो सेवा यसअघि नै सुरु गरे पनि सरकारी कार्यालयले विस्तारै प्रयोग गर्न थालेको प्रबक्ता पोखरेलले बताए । उनि भन्छन् – ‘यसले समयको बचत मात्र हैन खर्च पनि कम गराउँछ ।’

उपत्यका बाहिर सबैजसो भन्सार तथा कर कार्यालयहरूले यस्तो भिडियो कन्फ्रेन्स छिट्टै सुरु गर्ने तयारी थालेका छन् ।


क्लिकमान्डु