भर्चुअल दुनियाँमा रेखा थापा



rekha_in

काठमाडौं । अभिनेत्री रेखा थापा चलचित्र दुनियाँमा जति सफल छिन् भर्चुअल दुनियाँमा पनि उनको लोकप्रियता कम्ता लोभ लाग्दो छैन । फेसबुक पेजमा सम्भवतः सबैभन्दा बढि लाइक पाउने नेपाली हुन रेखा । उनको पेजमा २९ लाख बढिले लाइक गरिसकेका छन् ।

हाल नयाँ सिनेमाको सुटिंगका लागि हेटौंडामा रहेकी थापाले आफ्नो फेसबुक पेज र प्रोफाइलवाट दैनिक जसो फोटो, भिडियो र स्ट्याटस अपडेट गरिरहेकी छिन् । ‘फेसबुक पेज मलाई मेरो दर्शक र फ्यानसंग कनेक्ट गर्ने माध्यम हो’ भन्छिन् रेखा । रेखा कहाँ छिन, कुन सिनेमा आउँदै छ, कस्तो भूमिकामा उनि छिन्, आजकल उनका फ्यानलाई धेरै कुराको अपडेट फेसबुक पेजले नै गराउँछ ।

फ्यान पेज बाहेक फेसबुकमा आफ्नो छुट्टै ‘अकाउन्ट’ पनि नियमित चलाउँछिन रेखा । तर यसमा भने उनका साथीभाई, ईष्टमित्रहरुसंग ‘इन्टरएयाक्सन’ बढि हुन्छ । त्यसो त उनको यो अकाउन्टमा पनि फलोअरको संख्या ५५ हजार भन्दा बढी छ । रेखाले सन २००९ देखि फेसबुक चलाउन थालेकी हुन् ।

‘म प्रायः बिहान र साँझको समय सोसल मिडियालाई दिन्छु । यी समय भनेको नेपाल भित्र र नेपाल बाहिरका साथीभाई, ईष्टमित्र र फ्यानहरुसंग भेटघाट गर्न मिल्ने समय हो ।’ क्लिकमाण्डुसँग कुरा गर्दै रेखाले भनिन् । ‘यो बाहेक कुनै राम्रो समाचार र महत्वपूर्ण क्षण भएमा त्यसलाई दिउसोको समयमा पनि पोष्ट गर्छु ।’ त्यसो त सँधै एकैनास भने हुँदैन, कहिलेकाहीँ  व्यस्तताले २-३ दिन पनि अपडेट गर्न भ्याउँदिनन् उनि ।

चिनारुहरुसँग भर्चुअल दुनियामा भेट्ने, रमाईलो गर्ने माध्यमको रुपमा लिएर सुरूमा फेसबुक अकाउन्ट खोलिन उनले । रेखा भन्छिन- ‘अहिले सोसल मिडिया पावरफुल भएको छ । साथीभाई भेटघाटमा मात्र मात्र सीमित छैन यो । समाचारलाई विश्वव्यापी बनाउन देखि हरेक विषयमा जनमत तयार गराउन यस्ता प्लेटफर्मको भूमिका बढेको छ।’

फेसबुकले मानिसलाई आ-आफ्नो नेचर अनुसार र आफुले गरेको काम अनुसार सहयोग गर्ने हो । मलाई मेरो दर्शक, शुभचिन्तकसंग जोडेको छ भने कसैलाई आफ्नो ब्यापारको प्रचारप्रसार गर्ने थलो भएको होला । त्यसैले फेसबुक फाइदा र घाटाको कुरा हेर्ने थलो नभएर मलाई चाहि लाखौं दर्शक, फ्यानसंग एकै पटक जोड्ने पुल भएको छ ।

सोसल मिडियामा फेसबुक बाहेक अरू प्लेटफर्म भने उनले प्रयोग गरेकी छैनन् । उनको पेज ३ बर्ष अगाडी भेरिफाइड भएको हो । यो भन्दा पहिले उनको नाममा सैयौं नक्कली फेसबुक पेज र प्रोफाइल पेजहरु बनेका थिए । भेरिफाइड भएपछि अहिले ति पेजहरु धेरै छटनीमा परेका छन् । यसले रेखा थापाको आधिकारिक पेजमा उनको फ्यान फलोअरहरुलाई आउन सजिलो भएको छ ।

रेखा भन्छिन्- ‘सोसल मिडियाले मानिसलाई अल्छि बनाउँछ भन्छन् । तर मेरो बुझाईमा यसले सधै सक्रिय बनाउन मद्दत गर्छ । तपाई आफ्ना फ्यान फलोअरहरुसंग नियमित अपडेट हुनुस् त । तपाई सधैं आफूलाई फुर्तिलो र सक्रिय पाउनु हुन्छ ।’

अहिलेको जमानामा सोसल मिडियाबाट टाढिनु भयो भने तपाईँले आफैंलाई आफ्नो व्यावसायिक क्षेत्रबाट मात्र नभएर आफ्ना शुभचिन्तकहरुको मनबाट पनि टाढा राख्नुहुन्छ ।

अहिलेको जमानामा सोसल मिडियाबाट टाढिनु भयो भने तपाईले आफैंलाई आफ्नो व्यवसायीक क्षेत्रबाट मात्र नभएर आफ्ना शुभचिन्तकहरुको मनवाट पनि टाढा राख्नुहुन्छ भन्छिन रेखा। ‘म भन्दा अगाडी र म चलचित्रमा आएपछि धेरै युवतीहरू नायिकाको रुपमा आए । कति हराए, कतिको नाम बिर्सियो, कति गुमनाम भए ।’ उनि भन्छिन् ‘यदी उनीहरु पनि सोसल मिडियामा जोडीईरहेका भए उनीहरू आफ्ना दर्शकको मनमा त बसिरहेका हुन्थे । उनीहरूले झकझकाएर आफ्नो कर्म क्षेत्रमा फर्किन मद्दत समेत गरिरहेका हुन्छन् ।’


क्लिकमान्डु