टेलिफोन कल डिटेलले खोल्यो गुप्ताको पोल



call_deकाठमाडौं । प्रहरीले सोमबार पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई अपहरणको धम्की दिएको उजुरीका आधारमा पक्राउ गर्यो । पक्राउसँगै बढ्ने दवावका कारण सामान्यतः उजुरीसँगै भरपर्दो प्रमाण नभेटी प्रहरीले प्रभावशालि व्यक्तिलाई यसरी पक्राउ गर्दैनन् । गुप्ता प्रकरणमा भने प्रहरीले सहजै उनलाई पक्राउ गरी अपहरण तथा शरिर बन्धक अभियोगमा ललितपुर जिल्ला अदालतमा पेस गरेर अनुसन्धानको म्याद नै लियो ।

आखिर प्रहरीले के फेला पार्यो जसले गर्दा पक्राउ र अदालतबाट अनुसन्धानका लागी सहजै म्याद आयो?

६ महिनाका १ सय कल

उजुरी कर्ता तारा रेग्मीले गुप्ताले पटक–पटक फोन मार्फत धम्की दिएको उजुरीमा उल्लेख गरेकाले उजुरी आए लगत्तै महानगरीय प्रहरी परिसर ललितपुरले पूर्व मन्त्री गुप्ता र उजुरी कर्ता तारा रेग्मीको टेलिफोन सम्पर्कको कल विवरण झिकायो । करिब २ महिनाको कल विवरण हेर्दा गुप्ताले उनलाई एक सय पटक भन्दा बढी फोन गरेको देखियो ।

रेग्मीले निवेदनमा आफ्नी छोरीलाई समेत गुप्ताले फोन गरेर धम्क्याएको उल्लेख गरेका थिए । प्रहरीले रेग्मीको छोरीको मोबाइल नम्बर र गुप्ताको मोबाइल नम्बरको कल विवरण हेर्दा त्यो दावी पनि पुष्टि भयो ।

छ महिनाको अवधिमा १ सय भन्दा बढि कल यी नम्बर बीचमा भएको खुल्यो । पछिल्लो दुइ महिनाको अवधिमा धेरै कल रेकर्ड भेटियो । अधिकांश कल गुप्ताले नै गरेका थिए । पारिवारिक सम्बन्ध नभएका गुप्ताले रेग्मीलाई गरेको कलको विवरण उजुरी पुष्टिका लागी पर्याप्त आधार थियो ।

प्रहरीले यसैलाई आधार बनाएर गुप्ताविरुद्धको उजुरीसंगै जाहेरी लियो, सबै विवरण समेटेर अपहरण तथा शरिर बन्धक उद्योगमा अनुसन्धानका लागी न्यायिक हिरासतमा राख्न ललितपुर अदालतमा पेश गर्‍यो । गुप्ता प्रकरणको अनुसन्धान गरिरहेको  ललितपुर प्रहरीका प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार अदालतले पहिलो चरणमा ४ दिन हिरासतमा राख्न म्याद दिएको छ ।

के हो कल डिटेल?

मोबाइल वा ल्यान्डलाइन टेलिफोन प्रयोगकर्ताका कल विवरण दूर सञ्चार सेवा प्रदायक कम्पनीको डेटाबेसमा सङ्कलन हुन्छन् । फोन गरेको समय,  नम्बर, कल अवधि, फोन गर्दा प्रयोगकर्ताको स्थान लगायतका सबै कलको विवरण दूरसञ्चार कम्पनीमा सञ्चित हुन्छन् । आवश्यक परे अडियो ट्रयाक गर्ने र अटो रेकर्ड गर्ने प्रविधि पनि टेलिकम कम्पनीहरूसँग हुन्छ ।

अनुसन्धानमा सहयोग

प्रविधिको प्रयोगसँगै पछिल्लो समय दूरसञ्चार कम्पनीहरूले उपलब्ध गराउने कल डिटेल प्रहरीका लागि महत्वपूर्ण अनुसन्धान सामग्री बनिरहेको छ । कल विवरणले अनुसन्धान अवधिलाई छोट्टयाएको अनुसन्धानका अनुभवी प्रहरी अधिकारी बताउँछन् ।

प्रविधिमा आधारित अनुसन्धान पद्धतिको प्रारम्भ गर्दै प्रहरीले २०६६ सालदेखि अनुसन्धानमा कल विवरणको विश्लेषणलाई समेट्न थालेको हो । व्यक्तिगत रुचिमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी अधिकारीले पहिलो पटक यसको अभ्यास गरेका थिए ।

मोबाइल प्रयोगकर्ताको सम्पर्क जालो, उसको सक्रियता र उ पुगेको स्थान सहितको विवरण सहजै आउने भएपछि प्रहरीले पछिल्लो समय चोरिएको मोबाइलको खोजी देखी गम्भीर प्रकृतिको अपराधको अनुसन्धानसम्मको प्रारम्भ यसैबाट सुरु गर्ने गरेको छ ।

पछिल्ला समय भएका देखादेखी सामान्य प्रकृतिका सबै अपराधको अनुसन्धानमा कल डिटेलले सघाएको छ । अम्लेसम्मको अनुसन्धानमा न्यायाधीश रणबहादुर बमको हत्या अनुसन्धानमा प्रहरीले सबैभन्दा धेरै कल विवरणको विश्लेषण गरेको थियो । करिब तीन वर्ष लामो अनुसन्धानको क्रममा प्रहरीले झन्डै ८० हजार कल विवरण विश्लेषण गरेको थियो ।

सूरूमा नेपाल टेलिकमले  मात्र यस्ता विवरण उपलब्ध गराउँदै आएको थियो । अनुसन्धानलाई सघाउन दबाब बढ्दै गएपछी अहिले मोबाइल र टेलिफोन सेवा उपलब्ध गराउने सबै कम्पनीले प्रहरीले मागेको विवरण उपलब्ध गराउने गरेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए ।

प्रहरीको आफ्नै सफ्टवेयर

दैनिक लाखौंको सङ्ख्यामा टेलिकमका डेटाबेसमा रेकर्ड हुने कल रेकर्ड मध्ये चाहिने विवरण मात्र खोज्न सहज छैन । सुरू सूरूमा ’मेनवल्ली’ विवरण खोज्दा झन्झट बेहोरेको प्रहरीले पछि सफ्टवेयरको प्रयोग गर्ने गरेको छ ।

टेलिकम कम्पनीले ’बल्क’मा  उपलब्ध गराउने डेटालाई प्रहरीको आइ टु नामको सफ्टवेयरले फिल्टर गर्न सघाउँछ । अमेरिकी सरकारले सहयोगमा दिएको यो सफ्टवेयर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान विभाग र अख्तियारले मात्र प्रयोग गर्दै आएको छ ।


क्लिकमान्डु