कर कार्यालयमा प्यान लिनेको घुईंचो, ३ महिनामै ६ लाख १९ हजारले लिए
काठमाडौं । सरकारले २ हजार रुपैयाँभन्दा ठूलो भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि कर कार्यालयमा प्यान लिनेहरुको घुईंचो नै लागेको छ । पछिल्लो ३ महिनामा ६ लाख १९ हजार जनाले प्यान लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार ०७६ असार मसान्तसम्ममा ९ लाख ९३ हजार जनाले प्यान लिएका थिए । तर, चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा मात्रै ६ लाख १९ हजार जनाले प्यान लिएका छन् । असार मसान्तसँग तुलना गर्दा पछिल्लो ३ महिनामा प्यान लिनेको संख्या ६२ प्रतिशतले बढी हो ।
अहिलेसम्म प्यान लिनेको संख्या २८ लाख ८९ हजार पुगेको मन्त्रालयले जनाएको छ । व्यक्तिगत र व्यावसायिक गरी २ प्रकारका प्यान लिन पाइन्छ ।