अर्ब लगानीमा पोखरामा थपियो अर्को तारे होटल
काठमाडौं । पर्यटकीय नगरी पोखराको लेकसाइडमा अर्को तारे होटल थपिएको छ । इन्जिनियरिङ अध्ययन प्रतिष्ठान पुल्चोकका पूर्वडिन डा. भरत पहारी र उनका भाई डा. मोहन पहारीले १ अर्ब रुपैयाँको लगानीमा ‘होटल सरोबर’ खोलेका हुन् ।
बिगत २ वर्षदेखि निर्माण भइरहेको सरोबर आगामी असोजभित्रै सञ्चालनमा आइसक्ने होटलका अध्यक्ष डा. भरत पहारीले जानकारी दिए ।
‘भौतिक निर्माणको काम सकिएको छ, अहिले फिनिसिङ भइरहेको छ, अबको असोजभित्र होटल लसञ्चालमा ल्याउँछौं,’ पहारीले क्लिकमाण्डूसँग भने ।
होटलमा कूल ९६ रुम छन् । जसमध्ये १५ वटा स्वीट रुम छन् । स्वीटरुपमा पनि एउटा प्रेसिडेन्सियल स्वीट रुम (राष्ट्र प्रमुख बस्न मिल्ने सुविधायुक्त कोठा) छ । त्यसैगरी, ६ वटा रोयल स्वीट, ६ वटा स्टान्डर्ड स्वीट, ३ वटा हनिमुन स्वीट, ३६ वटा रोयल डिलक्स र ४४ वटा डिलक्स रुम छन् ।
होटलमा जाने ग्राहकले बाहिरी वातावरणको हावा नभई जमिनमुनिको हावाको मज्जा लिन सक्नेछन् ।
होटलको सबैभन्दा माथिल्लो तलामा ३६० डिग्री भ्यू अर्थात् रुफ टप रेस्टुरेन्ट छ, जहाँबाट तीनतिर फेवाताल र एकतिर पोखरा शहरको दृश्यावलोकन गरेर ग्राहकले मनोरञ्जन लिन सक्ने अध्यक्ष डा. पहारीले जानकारी दिए ।
नेपालकै स्तरीय स्पा
होटलमा नेपालको सबैभन्दा ठूलो स्तरीय स्पा रहेको पहारीको दाबी छ । जहाँ मेडिकल ट्रिटमेन्ट, फिटनेस सेन्टर र योगा मेरिटेसन हलसमेत छ ।
आफ्नै उत्पादनको ग्याँस, जमिनमुनिको हावा
किचन र ट्वाइलेटको फोहोरबाट ग्याँस उत्पादन गर्ने र त्यही ग्याँस खाना पकाउन प्रयोग गर्ने पहारीले जानकारी दिए ।
होटलमा जाने ग्राहकले बाहिरी वातावरणको हावा नभई जमिनमुनिको हावाको मज्जा लिन सक्नेछन् । होटलमा भएका भवनमा प्रयोग हुने बिजुली सोलारबाट उत्पादन गरिएको छ ।
आफूले अरुलाई सिकाएको बिषय आफूले नै व्यवहारमा उतार्नु पर्छ भनेर व्यवसाय सुरु गरेको पहारी बताउँछन् ।
‘जियो थर्मल प्रविधि प्रयोग गरेर जमिनमुनीबाट हावा निकालिएको छ, त्यो हावाले २ तलासम्म एयर कन्डिसनिङको व्यवस्था गरिएको छ,’ उनले भने ।
आफ्नो होटलले ‘अर्थ एयर ट्रिटमेन्ट’को व्यावसायिक प्रयोग नेपालमै पहिलोपटक गरेको पहारीको दाबी छ ।
‘यो होटलका सबै कोठाहरु वातावरणमैत्री छन्, उर्जा कम खपत गर्ने विधि अपनाइएको छ, वातावरणलाई प्रदुषण गर्ने कुनैपनि वस्तु यहाँ प्रयोग गरिँदैन,’ पहारी भन्छन् ।
साढे ६ रोपनी क्षेत्रफल
निर्माणधीन होटलहोटल साढे ६ रोपनी जमिनमा फैलिएको भएपनि भवन भने एउटा मात्रै छ । साढे ४ रोपनी आफ्नै र २ रोपनी जमिन भाडामा लिइएको हो ।
९ तले होटलको २ तला अन्डर ग्राउन्ड छ । अन्डर ग्राउण्डको सुरुको तलामा पार्किङ र माथिल्लो तलामा सभाहल छ । सभाहल विभिन्न कार्यक्रमका लागि सुहाउने गरी पार्टेसन गरिएको छ । पार्टेसन हटाएर ठूलो सभा गर्न मिल्ने व्यवस्था छ । सभाहलमा ८ सय जनासम्म अट्नेछन् ।
२०२२/२३ तिर हिप्पी टुरिस्ट आउँदा लेकसाइडमा सरोबर गेष्टहाउस सञ्चालनमा थियो । त्यसबेला सरोबरले पर्यटकलाई गुन्द्रीमा सुताउँथ्यो । अब डिलक्स रुममा सुताउने छ । ५ रुपैयाँमा एक रात सुत्न पाइने सरोबरमा अब एक रात विताउन न्यूनतम १०० डलर अर्थात् १० हजार रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ ।
अन्डरग्राउण्ड पार्किङमा ४०/४२ वटा गाडी अट्ने र बाहिरको खुल्ला पार्किङमा ४०/४५ वटा गाडी पार्किङ गर्न मिल्ने पहारीले बताए । होटलको पार्किङस्थलमा थप ५० वटाभन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्छ ।
चार तारेस्तरको होटल, सुबिधा भने पाँच तारेकै
होटल अहिले चार तारेस्तरको भएपनि पाँच तारे सरहको सुविधा दिइने पहारीले बताए । होटलले कम्तिमा १०० जनालाई रोजगारी दिने उनको भनाई छ ।
सिद्दान्तलाई व्यवहारमा बदल्न होटल व्यवसाय
पहारीले विश्वविद्यालयमा ३५ वर्षसम्म अध्यापन गराए । अध्यापनका क्रममा विद्यार्थीलाई उद्यमी बन्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ, राज्यको उत्पादकत्व बढाउनुपर्छ भन्ने सिद्दान्त सिकाएको उनी सम्झन्छन् । आफूले अरुलाई सिकाएको बिषय आफूले नै व्यवहारमा उतार्नु पर्छ भनेर व्यवसाय सुरु गरेको पहारी बताउँछन् ।
‘मेरो जिन्दगी चलाउन कुनै कठिनाई थिएन, आजसम्मको कमाइको बचत र पेन्सनले नै सुखमय जिन्दगी बित्थ्यो,’ उनी भन्छन्- ‘मुलुकमा रोजगारी सिर्जना गर्न, उत्पादकत्व बढाउन र सिद्दान्तलाई व्यवहारमा उर्तान केही गरौं भन्ने लाग्यो, अनि होटल खोलेको हौं ।’
पर्यटकलाई गुन्द्रीमा सुताउने हिप्पीकालीन त्यो सरोबर,…
पोखरेलीका लागि सरोबर नयाँ होटल होइन । यो त पोखराकै सबैभन्दा पुरानो होटलमध्येको एक चर्चित होटल हो ।
२०२२/०२३ तिर हिप्पी टुरिस्ट आउँदा लेकसाइडमा सरोबर गेष्टहाउस सञ्चालनमा थियो । त्यसबेला सरोबरका ४ वटा गेष्ट रुम थिए ।
‘होटलले पर्यटकलाई गुन्द्री र खाट दिन्थ्यो, पर्यटकहरु सुत्नका लागि स्लिपिङ व्यागको प्रयोग गर्थे,’ पहारी सम्झन्छन्- ‘कतिपय पर्यटकहरु पीढीँमा पनि सुत्थे, कतिपय आँगनमा टेन्ट ओछ्याएर सुत्थे ।’
त्यसबेला होटल सरोबरमा एक रात सुतेको प्रतिव्यक्ति ५ देखि १० रुपैयाँ लाग्थ्यो ।
निर्माणधीन होटलको स्वीमिङ पुल‘मकै भटमास भुटेर पर्यटकलाई खाजा दिन्थ्यौं, खाना र खाजाको १० रुपैयाँ लिन्थ्यौं,’ उनले स्मरण गरे ।
पहारीको परिवारले ०४६ सालसम्म आफैंले होटल सञ्चालन गर्यो । व्यापार राम्रै थियो । त्यसबेलासम्म होटलमा एटेच बाथरुम बनिसकेको थियो । प्रतिरुम ५ सय रुपैयाँ चार्ज लाग्थ्यो ।
आफूहरुले अध्ययनका क्रममा पोखरा छाडेपछि बुबाआमाले होटल भाडामा लगाएको पहारीले बताए ।
‘०५६ सालसम्म होटल भाडामा लगायौं, त्यसपछि त भाडामा लिएको मान्छेले होटल बन्द गर्यो, हामी आआफ्नो करिअरका लागि बाहिरै थियौं,’ उनले भने ।
जागिरे जीबनाट अबकास हुने बेलामा आफ्ना बाबुआमाले सुरु गरेको व्यवसायलाई व्यूँताएर अझ ठूलो बनाउन दाजुभाई मिलेर होटल सञ्चालनमा ल्याइएको पहारी बताउँछन् ।
भरतका भाइ मोहन पहारी अहिले अमेरिकाको बोस्टनमा छन् । उनी पेशाले जनरल मेडिकल सर्जन हुन् । बन्द भएको सरोबर होटललाई नयाँ दर्ता गरेर दाजुभाइको संयुक्त लगानीमा होटललाई पुन सञ्चालनमा ल्याउन लागिएको हो ।
र, पर्यटकलाई गुन्द्रीमा सुताएर ब्यवसाय गर्ने त्यही पुरानो सरोबरले अब पर्यटकलाई डिलक्स रुममा सुताउने छ । भुटेका मकै अब पपकर्न बनेर पाहुनाको खाजा बन्ने छ ।
त्यतिमात्रै होइन, हिँजो ५ रुपैयाँमा एक रात सुत्न पाइने सरोबरमा अब एक रात विताउन न्यूनतम १०० डलर अर्थात् १० हजार रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ ।