काठमाडौंमा नेपाल-बंगलादेश व्यापार बैठक शुरु



काठमाडौं । नेपाल-बंगलादेशबीच दुई देशीय व्यापारसम्बन्धी चौथो बैठक काठमाडौंको होटल याक एण्ड यतीमा सोमबारबाट शुरु भएको छ । बैठक मंगलबारसम्म सञ्चालन हुनेछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ । त्यस्तै बंगलादेशको तर्फबाट वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वमा सात सदस्यीय टोली बैठक सहभागी रहेको बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बैठकमा सातवटा एजेण्डामा छलफल हुने बताए ।

नेपाल र बंगलादेश बीचको यो चौथो बैठक हो । यसअघि भएका बैठकको प्रगतिको समीक्षा गर्दै ढाका–काठमाडौं बस सेवा, खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय छलफलको एजेण्डा रहेको छ । दुई देशबीच मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे पनि छलफल हुनेछ ।

नेपालबाट बंगलादेश निर्यात हुने औषधिजन्य वस्तुको भन्सार महशुल, कृषि र औद्योगिक उत्पादन, आन्तरिक जलमार्ग, पर्यटन प्रवर्द्धनका विषय पनि बैठकका एजेण्डा रहेका छन् । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधारका विकासमा पनि बैठकमा छलफल हुनेछ ।

त्यसैगरी, नेपालदेखि बंगलादेश बसबाट जोड्ने विषयमा समेत छलफल हुने बताइएको छ ।


पुष्प दुलाल