सार्वजनिक खरीदलाई व्यवस्थित बनाउन विज्ञको रोष्टर बनाउँदै सरकार



काठमाडौं । सार्वजनिक खरीद तथा विकास निर्माणको काममा चरम बदमासी हुन थालेपछि सरकार आफैंले विज्ञ जनशक्ति तयार पार्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरीद अनुगमन कार्यालयले सार्वजनिक खरीद प्रक्रियालाई व्यवस्थित पारदर्शी एवम् जिम्मेवार बनाउने लक्ष्यका साथ विज्ञ जनशक्ति तयार पार्न लागेको हो ।

सो कार्यालयले सार्वजनिक खरीद सम्बन्धी बोलपत्र कागजात, खरीद कार्यविधि, प्राविधिक मार्गदर्शन, खरीद व्यवस्थापनलगायतका सार्वजनिक खरीदसँग सम्बन्धित सार्वजनिक खरीदका जानकार योग्य, दक्ष र अनुभवी व्यक्तिलाई विज्ञको रुपमा काम गर्न दिने तयारी गरेको छ ।

नेपालको भौतिक विकास निर्माणमा विशेषगरी दक्ष जनशक्तिको अभाव देखिएको छ । त्यसो त विकास निर्माणका काममा संलग्न निर्माण व्यवसायीको क्षमतामा समेत प्रश्न उठ्ने गरेको छ ।

आयोजनाको गम्भीरता तथा त्यसले पार्ने आर्थिक र सामाजिक प्रभावको बारेमा समेत कुनै अध्ययन हुन नसकेको पाइएको छ ।

निजी क्षेत्रको क्षमतामा समेत विकास हुन नसकेको अवस्था छ । जसका कारण सार्वजनिक विकास निर्माण प्रक्रियामा जुन स्तरको गति पैदा हुनुपर्ने थियो त्यो भने हुन नसकेको पाइएको छ ।

विशेष गरी नेपालको विकास निर्माणमा संस्थागत संरचनाकै अभाव देखिएको छ । विज्ञ भनिने जनशक्ति समेत आफू पदमा रहँदा सिन्को नभाचेका र पदबाट छाडेको भोलिपल्टदेखि विज्ञको रुपमा काम गर्दै हिड्ने प्रवृत्तिका व्यक्ति रहेका छन् ।

पूर्वसचिव, तथा पूर्व महानिर्देशकहरु पदमा रहँदा केही राम्रो काम नगरेका तर अवकाश भएपछि लगत्तै विज्ञ भनाउँदै हल्ला गर्ने प्रवृत्तिको निरत्साहनका लागि पनि सार्वजनिक खरीद अनुगमन कार्यालयले विज्ञको रोष्टर बनाउन लागेको हो ।


पुष्प दुलाल