प्रतिवन्धित भारु सटहीबारे कुरा गर्न मंगलबार आरबीआइको टोली नेपाल आउँदै



काठमाडौं । भारतले प्रतिवन्ध लगाएका ५०० र १००० दरका नेपालमा रहेका भारु सटहीबारे कुरा गर्न रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को टोली नेपाल आउने भएको छ ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार आरबीआइका कार्यकारी निर्देशकको नेतृत्वको टोली मंगलबार नेपाल आउने भएको हो ।

‘हामीले लामो समयदेखि उहाहरुसँग कुरा गर्न खोजिरहेका थियौं, उहाँहरु मंगलबार प्रतिबन्धित भारु सटहीबारे कुरा गर्न नेपाल आउँदै हुनुहुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो,- ‘सकरात्मक परिणाम निष्कन्छ भन्नेमा हामी आशाबादी छौं ।’

गत कात्तिक तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५०० र १००० दरका पुराना भारु नोटमाथि प्रतिवन्द लगाएको घोषणा गरेका थिए ।

मोदीको सो घोषणा पनि राष्ट्र बैंकले देशभित्र भएका ठूला दरका भारुको तथ्यांक पठाउन सार्वजानिक आह्वान गरेको थियो ।

राष्ट्र बैंकले आह्वान गरेपछि बैंक वित्तीय संस्था, होटल, मनिचेञ्जर र सर्वसाधारणहले आफुसँग भएको भारुको तथ्यांक राष्ट्र बैंकलाई जानकारी गराएका थिए ।

त्यसपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले आइबीआइका गभर्नर उर्जित पटेललाई फोन र इमेल गरेर नेपालमा भएका ५०० र १००० दरका भारु नोट सटहीको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

पटेलले सकरात्मकरुपमा हेरिदिने प्रतिवद्धता पनि गरे । पछि गभर्नर डा. नेपालसँगको सम्पर्कमा पटेलले यो आफ्नो बुँदाभन्दा बाहिरको कुरा भएको भन्दै भारतको वित्त मन्त्रालयसँग कुरा गर्न सुझाब दिएका थिए ।

अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीलाई फोन गरेर भारु नोट सटहीको व्यवस्था मिलाइदिन आग्रह गरे । जेट्लीले पनि सकरात्मकरुपमा हेरिदिने प्रतिवद्धता गरे ।

तर, ठोस प्रक्रिया अघि नबढेपछि सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको सदस्यतामा पाँच सदस्यीय टोली गठन गरेको थियो ।

तर, टोलीलाई भारतीय वित्त मन्त्रालयले सो विषयमा कुरा गर्नका लागि समयसमेत दिएको थिएन ।


पुष्प दुलाल