संख्या घटाउन मर्जरलाई प्रभावकारी बनाउन पूर्व गभर्नरहरुको सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरुले बैंकहरुको संख्या घटाउनको लागि मर्जरलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

राष्ट्र बैंकले पहिलो पटक मौद्रिक नीतिमा पूर्व गभर्नरहरुसँग छलफल गरेको थियो ।

छलफलमा राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शम्शेर जवरा देखि पूर्व गभर्नरहरु भेष बहादुर थापा, गणेश बहादुर थापा, तिलक बहादुर रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराई सहभागी थिए ।

पूर्व गभर्नरसँगको छलफलपछि राष्ट्र बैंकले जारी गरेको प्रेस नोटमा अर्थ व्यवस्थाको आन्तरिक र वाह्य क्षेत्र स्थायित्वका लागि आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने तथा मर्जरलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको उल्लेख गरेको छ ।

नेपालको बैकिङ्गहरुलाई ग्लोबल मार्केटमामा उपस्थित हुन सक्ने गरी पुनरसंरचना गर्नुपर्ने सुझाव पूर्व गभर्नरहरुले दिएका छन् ।

उनीहरुले अन्तर्राष्ट्रिय आर्थिक स्थिति तथा विकास क्रमलाई ध्यानमा राखी केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्ने तथा आयात व्यवस्थापन र आन्तरिक उत्पादन वृद्धिका उपायहरु अपनाई व्यापार घाटा न्यूनीकरणमा जोड दिन आग्रह गरेका छन् ।

वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताहरुको हीत संरक्षण गर्न आवश्यबक नीतिगत तथा कानूनी व्यवस्था गर्नुपर्ने र सरकारको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी कृषि लगायत अन्य प्राथमिकता प्राप्त क्षेत्रहरुमा वित्तीय श्रोत र साधनको लागि थप प्रवाह हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव मौद्रिक नीतिमा छ ।

यस्तै व्यापार घाटाको आकार कम गर्न र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नका लागि स्थायी प्रकृतिको उच्च स्तरीय संरचना स्थापना गरी परिणाममूखी नतिजा निकाल्ने गरी काम गर्नुपर्ने सुझाव समेत समेटिएको छ ।
सुझाव दिन पूर्व गभर्नरहरु सतेन्द्रप्यारा श्रेष्ठ र दिपेन्द्रबहादुर क्षेत्री उपस्थित भएनन् । भने अर्का पूर्व गभर्नर डा युवराज खतिवडा अर्थमन्त्री रहेका छन् ।


क्लिकमान्डु