कहाँ अड्कियो प्राइम र सेञ्चुरी बैंकको मर्जर ?



काठमाडौं । गत साता नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंकका अध्यक्ष र सिइओलाई बोलाएर मर्जरमा जान निर्देशन दिनुअघि नै प्राइम बैंक र सेञ्चुरी बैंकको मर्जरको कुरा अगाडि बढेको थियो ।

प्राइम र ओम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया स्थगित भएपछि प्राइमले मर्जरका लागि विभिन्न संस्थालाई प्रस्ताव गर्दा सेञ्चुरीलाई समेत प्रस्ताव गरेको थियो ।

धेरैको बुझाई बिग मर्जरको सुरुवात प्राइम र सेञ्चुरीबाट हुन्छ भन्ने थियो । तर, यसको सुरुवात ग्लोबल आइएमई बैंक र जनता बैंकले गरे ।

यद्यपी शुक्रबार नै प्राइम बैंकले कैलाश विकास बैंकलाई समेत एक्वायर गर्ने सम्झौता गरेको छ ।

प्राइम र सेञ्चुरी बैंकबीच धेरै चरणमा छलफल भएर सकारात्मक रुपमा छलफल अगाडि बढ्दा समेत मर्जरको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

‘मर्जरका लागि दुवै पक्ष सकारात्मक भएपनि धेरै प्रक्रिया मिलाउनु पर्ने हुँदा टुंगोमा नपुगेको हो, मर्जरको जटिलता नै यही हो,’ स्रोतले भन्यो ।

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने सम्झौता गरेपछि प्राइम र सेञ्चुरीलाई मर्जरको प्रक्रिया टुंग्याउन दबाब भने बढेको छ ।

ग्लोबल र जनताको मर्जर सम्झौताले मिल्ने भए छिटो सम्झौता गर्ने दवाव बढेको हो ।

सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) देखि लिएर धेरै विषयमा सकारात्मक नै रुपमा कुरा अगाडि बढेको स्रोतको दाबी छ ।

‘विभिन्न चरणमा छलफल भयो, सहमति नजिक पुगेका छौं,’ स्रोतले भन्यो, ‘दुबै बैंकका सञ्चालक समितिले बोल्ड डिसिजन गर्न नसकेकाले प्रक्रिया अड्किएको हो ।’

कुरा मिल्यो भने मौद्रिक नीति अघि नै मर्जरको समझदारी गर्ने दुबै बैंकको सोच छ । प्राइम बैंकका अधिकांश सेयरधनी नेवार समूदायका छन् भने सेञ्चुरीमा पनि नेवार समूदायको राम्रो लगानी छ ।

एउटै समूदायको ठूलो लगानी भएकाले यी दुई बैंकबीच मर्ज हुने संभावना बढी भएको जानकारहरु बताउँछन् ।

केही दिनअघि सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ मर्जरको छलफलका लागि प्राइम बैंकको कार्यालय पुगेका थिए ।

‘लगानीकर्ताबीच भेटघाट र छलफल तीब्र छ, स्वाप रेसियो र कर्मचारी समायोजनमा पनि खासै समस्या छैन,’ स्रोतले भन्यो, ‘खाली दुबै बैंकले आफ्नो सञ्चालक समिति र ठूला सेयरधनीलाई कन्भिन्स गराएर निर्णय गर्न नसकेका मात्रै हुन् । लामो समयसम्म निर्णय भएन भने प्रक्रिया भाँडिन पनि सक्छ ।’


पुष्प दुलाल