नेप्सेका सिइओले बैंकलाई ब्रोकर लाइसेन्स रोकेको आरोप, लगानीकर्ता अर्थमन्त्रालय जाने (भिडियाे)
काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहको संयोजक हरी ढकालले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले बैंकलाई ब्रोकर लाइसेन्स दिन रोकेको आरोप लगाएका छन् ।
साउदले बैंकलाई ब्रोकर लाईसेन्स दिन रोेकेको भन्दै अब लगानीकर्ता अर्थ मन्त्रालयमा डेलिगेसन जाने बताए ।
‘हामी आज वा भोलि नै अर्थ मन्त्रालयमा नेप्सेले यो मुद्दा अडकाएर राखेको छ, यहाँ जालझेलको गन्ध छ भनेर जानकारी गराउन जान्छौं,’ ढकालले भने ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले ल्याएको प्रतिवेदनको ५८ बुँदामा समावेश भएको काम नेप्सेले नगरेको उनको आरोप छ ।
‘राज्यले दिएको निर्देशन नेप्सेले पालना नगरेर बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा जालझेल यहिबाट सुरु भएको हो’ ढकालले भने, ‘राज्यले गर्नु भनेर दिएको निर्देशन तत्ः तत्ः निकायमा जालझेलको गन्ध देखिएकोले बैंकलाई ब्रोकर लाईसेन्स दिने काम ढिला भएको हो ।’
साउदको पछिल्लो अभिव्यक्ति र बैंकलाई ब्रोकर लाईसेन्स दिने विषय कार्यान्यवन ढिला हुनुको कारण बारे छलफल गर्न समय लिएर आएपनि साउदले नै अन्तिम समयमा बैंकलाई ब्रोकर लाईसेन्सको विषयमा कुनै धारणा नराख्ने भन्दै आफूहरुलाई भेट्न नदिएको जानकारी गराए ।
तपाईंका पछिल्ले अभिव्यक्तिको बारेमा जानकारी गराउनु भनेर सोध्दा समय दिन नसक्ने जानकारी गराएको ढकालले बताए । उनले साउदलाई उदृत गर्दै उनले भने, ‘म अहिले तपाईहरुलाई समय उपलब्ध गराउन सक्दिन, अहिले तपाईंहरु जानु भन्नुभयो ।’
बैंकलाई ब्रोकर लाईसेन्स दिन रोक्न खोज्नेहरु कुनै पनि हालतमा सफल नहुने उनको तर्क छ ।
पुँजी बजार विकास र विस्तारको लागि यो अनिवार्य आवश्यक रहेको उनको बुझाई छ । यो मुद्दा ओझेलमा पार्न खोजेको भन्दै त्यस्ता तत्वको विरुद्धमा अब खबरदारी गर्ने बताए ।