बिग मर्जरको छलफल गर्न बैंकर्स संघले पूर्ण बैठक बोलायो



काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’ को विषयमा छलफल गर्न नेपाल बैंकर्स संघले पूर्ण बैठक बोलाएको छ । बैंकर्स संघले आफ्ना २८ वटै सदस्यलाई यस विषयमा छलफलका गर्न भन्दै बैठक बोलाएको हो ।

मंगलबार बिहान साढे ९ बजे बैंकर्स संघको कार्यालयमा बैठक हुनेछ । बैंकिङ क्षेत्रमा गंभीर विषय आउँदा बैंकर्स संघले सबै सदस्यहरुलाई डाकेर पूर्ण बैठक गर्ने गर्छ ।

‘समसामयिक विषयमा छलफल गर्नका लागि पूर्ण बैठक बोलाएका हौं,’ बैंकर्स संघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘त्यो भनेको अहिले चर्चामा रहेको बिग मर्जर नै हो ।’

यही असार १२ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरको लिखित प्रतिवद्धता ल्याउन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको संख्या धेरै भएको भन्दै मर्जर तथा एक्वायरमार्फत् संख्या घटाउनुको विकल्प नभएको प्रेजेन्टेशन दिएको थियो । उक्त प्रेजेन्टेशनमा केन्द्रित रहेर गभर्नर तथा डेपुटी गभर्नरहरुले बैंकका अध्यक्ष र सीइओलाई मर्जरमा जान दबाब दिएका थिए ।

राष्ट्र बैंकले दबाब दिएपछि बैंकहरु अहिले एकआपसमा मर्जरका बारेमा तीब्र रुपमा छलफल गरिरहेका छन् । राष्ट्र बैंकले अन्तिम समयमा आएर भनेकाले मर्जरका लागि पार्टनर खोज्ने समय कम भएको बैंकरहरुको गुनासो छ ।

राष्ट्र बैंकले यही असार २७ गते आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजानिक गर्दैछ । त्यसअघि नै कुन बैंक कुनसँग मर्जरमा जाने त्यसको लिखित प्रतिवद्धता राष्ट्र बैंकले मागेको हो ।

बैंकहरुको संख्या धेरै भएको भन्दै राष्ट्र बैंकका अधिकारीहरु १५ वटामा झार्ने तयारीमा छन् । अहिले नेपालमा वाणिज्य बैंकहरुको संख्या २८ छ ।

‘राष्ट्र बैंकले मौद्रिक नीति अघि नै प्रतिवद्धता पेश गर्नू भन्ने निर्देशन दिएपछि हामीले के गर्न सकिन्छ भनेर पूर्ण बैठक बोलाएका हौं,’ बैंकर्स संघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘पूर्ण बैठकले जे भन्छ हामी त्यही गर्छौं ।’

बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन हो ।


पुष्प दुलाल