खाद्य संस्थानको जग्गा नेपाल प्रहरीले १ अर्ब २० करोडमा किन्ने
काठमाडौं । नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको ६२ रोपनी जग्गा नेपाल प्रहरी परिसर काठमाडौंलाई बिक्री गरिने भएको छ । खाद्य संस्थानको काठमाडौं महानगरपालिका ११ स्थित कित्ता नं. २३९७ को क्षेत्रफल ६२–१–३–१ रोपनी प्रति आना ५० लाखका दरले १ अर्ब २० करोड रुपैयाँमा बिक्री निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
यस अगाडि २०७४ भदौ १९ गते प्रहरी परिसर काठमाण्डौंलाई जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । जसमध्ये ३२ रोपनी जग्गामध्ये हाललाई महानगरीय प्रहरी परिसर, काठमाण्डौंको नाममा १५ रोपनी जग्गा प्रहरी परिसरलाई बिक्री गरिनेछ ।
त्यसैगरी साविक नेशनल ट्रेडिङ लिमिटेड हाल नेपाल आयल निगमको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिकाको टेकुस्थित महानगरीय प्रहरी परिसर र अपराध महाशाखा, काठमाण्डौंको कार्य सञ्चालन भइरहेको भवन तथा सो वरिपरीको जग्गामध्ये ९ रोपनी जग्गा नेपाल प्रहरीको अपराध महाशाखा, काठमाण्डौंको नाममा रजिष्ट्रेशन पास मन्त्रिपरिषद्ले निर्णय गरिएको छ ।