जनप्रतिनिधिको गुनासोः कानूनी अस्पष्टताका कारण विकासमा समस्या भयो




काठमाडौँ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राखेका हुन ।

गाउँपालिकालाई सिंहदरबारसँग तुलना गरेर नहुने भन्दै अध्यक्ष श्रेष्ठले स्थानीय सरकारले काम गरेनन भन्नुभन्दा थोरै जनशक्ति, भौतिक पूर्वाधारको अभाव र समस्याका बीच पनि काम भइरहेको बताए । महासङ्घका कोषाध्यक्ष वंशलाल तामाङले पनि गाउँपालिकाले काम गर्न नसकेको नभई परिणाम देखिन बाँकी रहेको भन्दै एउटा गाउँपालिका वा त्यहाँको कर्मचारी÷जनप्रतिनिधिले गरेको बिगारमा ७५३ स्थानीय सरकारलाई मुछ्न नहुने बताए ।

पूर्वसचिव खेमराज नेपालले गाउँपालिकाले मानवस्रोतलाई विकासमा खर्चिनुपर्ने धारणा राखे । महासङ्घका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले विगतको खाडल पुर्नुपर्ने भएकाले अपेक्षाअनुरुप उपलब्धि हुननसकेको र तालिकाअनुरुप आगामी दिनमा विकासको कामले गति लिने बताए । फोडेजका अध्यक्ष गोपीकृष्ण ढुङ्गाना र सचिव चन्द्रमणि भट्टराईले प्रत्येक गाउँपालिकाले समग्र विकासका अतिरिक्त एउटा विशेष कार्यक्रम ल्याउनुपर्ने र त्यसैबाट गाउँपालिका चिनिनुपर्नेमा जोड दिएका थिए ।


क्लिकमान्डु