मोदीको दोस्रो कार्यकालमा जेट्लीले अर्थमन्त्रीको जिम्मेवारी नपाउने



नयाँ दिल्ली । भारतमा नरेन्द्र मोदीले बनाउन लागेको दोस्रो सरकारमा वित्त मन्त्रालयको जिम्मेवारी अरुण जेट्लीले नपाउने भएका छन् ।

भारतीय संचारमाध्यमले स्रोतलाई उल्लेख गर्दै प्रकाशित समाचार अनुसार मोदीको दोस्रो कार्यकालमा जेट्लीले वित्त मन्त्रालयको जिम्मेवारी पाउने छैनन् ।
जेट्ली आफैले पनि कुनै रुची नदेखाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अहिलेको मोदी सरकारमा जेट्ली तेस्रो बरियताका मन्त्री थिए ।

उनको स्वास्थ्य स्थिती खराब रहेको कारण उनी मन्त्रीपरिषद्मा सहभागी नहुँने देखिएको छ । बिहीबार घोषणा भएको भारतको लोकसभा निर्वाचनको परिणाममा नरेन्द्र मोदीको नेतृत्व रहेको गठबन्धनले करिब ३५० सिटमा चुनाव जितेको छ ।
इकोनोमिक्स टाइम्सका अनुसार जेट्लीलाई यो विषयमा सोधिएको प्रश्नको कुनै जवाफ दिएनन् ।

खराब स्वास्थ्य स्थितीको कारण जेट्ली निर्वाचन जितेपछि पार्टी मुख्यालयमा आयोजना भएको कार्यक्रममा सहभागी भएनन् ।

भारतीय संचारमाध्यमहरुले यो पटक वित्तमन्त्रालय जिम्मेवारी पियुष गोयलले पाउने दाबी गरेका छन् । जेट्ली बिरामी भएको कारण गोयलले गत अप्रिलममा अन्तरिम बजेट सार्वजनिक गरेका थिए ।

पेशाले चाटर्ड एकाउन्टेन्स गोयल अहिले मोदी सरकारमा कोइलामन्त्री छन् ।
मोदीले प्रचण्ड बहुमतका साथ निर्वाचन जितेपनि भारतीय अर्थव्यवस्था भने ठिक तरिकाले चलेको छैन । कतिपयले अर्थतन्त्रका जानकारलाई वित्त मन्त्रालयको जिम्मेवारी दिनुपर्ने मत व्यक्त गरेका छन् ।

यद्यपी मोदीले चलाउने शासन व्यवस्थामा सबै काम भने प्रधानमन्त्री कार्यालयबाट नै बढी हुने गरेको छ ।


क्लिकमान्डु