लोडसेडिङ हटाउने कुलमानलाई मोदीले भने, ‘तपाईले भ्रष्टाचार गर्नुभयो’

34k
Shares

काठमाडौं । नेकपाका सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

मंगलबार लेखा समितिको बैठकमा बोल्दै मोदीले कुलमानलाई भने, ‘लोडसेडिङ हटाएको नाममा तपाईले भ्रष्टाचार गरिरहनु भएको छ ।’

‘लोडसेडिङ हटाएको श्रेय कुलमान जीले एक्लैले लिनु खोज्नु भयो’ मोदीले अगाडि थपे, ‘मन्त्री, सचिव तथा प्राधिकरणका कर्मचारीको योगदान देख्नु भएन ।’

सबैको सहयोगमा लोडसेडिङ हटे पनि उहाँले एक्लैले लोडसेडिङ हटाए जस्तो गर्नुहुन्छ र त्यसैको आडमा भ्रष्टचार गरिरहनु भएको भन्दै मोदीले आक्रोश व्यक्त गरे ।

मोदीले प्राधिकरणमा भएको भ्रष्टाचारको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा दिएर कुलमानलाई कारबाही गर्नुपर्ने माग गरे ।

मोदीले थपे, ‘तत्कालीन राजा ज्ञानेन्द्र्रले पनि आफूलाई निकै ठूलो ठान्थे, अहिले कुलमान पनि त्यस्तै शैलीमा अघि बढ्दैछन् ।’

सांसद अमनलाल मोदी

सांसद मोदीलाई जवाफ दिँदै कुलमानले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएको खण्डमा झुन्डिन तयार रहेको बताए । उनले कटारी सब स्टेशन निर्माणको समयमा पनि सांसदले नै अवरोध गरेको बताए ।

समितिको बैठकमा कुलमान र मोदीबीच वाकयुद्ध चलिरहेको समयमा कांग्रेसका सांसदहरु भने कुलमानको पक्षमा देखिएका थिए । सत्तारुढ दलका सांसदले नै कुलमानको विरोध गरिरहेको र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसदहरु कुलमानको पक्षमा रहँदाको दृश्य भने निकै रोचक बनेको थियो ।

Skip This