सगरमाथा चढ्ने बढे, सरकारले कमायो साढे ४९ करोड, कुन देशका कति ?
काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्नका लागि सन् २०१९ मा नेपालसँगै ४८ देशका ३८१ जना नागरिकले अनुमति लिएका छन् । जेठ ५ गते आइतबारसम्मको तथ्यांकअनुसार ३६७ जना विदेशी नागरिकले अनुमति लिँदा जम्मा १४ जना नेपाली नागरिकले अनुमति लिएका छन् ।
सगरमाथा आरोहण गर्ने ३८१ जनाबाट सरकारले ४४ करोड २४ लाख ३७ हजार ८६२ रुपैयाँ आम्दानी भएको छ । सन् २०१७ मा सगरमाथा चढ्नका लागि ३७२ जनाले अनुमति लिएका थिए ।
त्यस्तै, सगरमाथा आरोहणका लागि सबैभन्दा बढी ७८ जना भारतीय नागरिकले अनुमति लिएका छन् । जसमा ५९ जना पुरुष र १९ जना महिला छन् । भने दोस्रो नम्बरमा ७५ जना अमेरिकी नागरिकले अनुमति लिएका छन् । जसमा ७१ जना पुरुष र ४ जना महिला छन् ।
त्यस्तै, ६० जना चिनियाँ नागरिकले अनुमति लिएका छन् । जसमध्ये ४० जना पुरुष र २० जना महिना छन् । त्यस्तै, बेलायती नागरिक ४४ जना छन् । जसमध्ये ४१ जना पुरुष र ३ जना महिला छन् ।
कुल अनुमति लिनेमध्ये ३०४ जना पुरुष र ७७ जना महिलाले आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ४४ टोलीमध्ये ७ वटा नेपाली र ३७ वटा विदेशी टोली छन् ।
पर्यटन विभागले दिएको तथ्यांकअनुसार ३० वटा हिमाल आरोहणका लागि विभिन्न देशका कुल ११३ समूहबाट ८६८ जनाले अनुमति लिएका छन् । जसबाट ४९ करोड ५९ लाख ८६ हजार ६२२ रुपैयाँ आम्दानी भएको छ ।