बीमा कम्पनीको बढ्दो बजार, एक महिनामा थपिए ११ हजार अभिकर्ता र ४८ कार्यालय



काठमाडौं । जीवन बीमाप्रति आम मानिसको चासो बढेसँगै बीमा अभिकर्ताको संख्या पनि बढेको छ । बीमा समितिका अनुसार गत एक महिनामा मात्रै ११ हजार ६५ जना बीमा अभिकर्ता थपिएका छन् ।

बीमा समितिको तथ्यांक अनुसार गत फागुन महिनामा ४ लाख ७३ हजार ८८१ बीमा अभिकर्ता रहेकोमा चैत महिनामा बढेर यो संख्या ४ लाख ८४ हजार ९४६ पुगेको छ ।

बीमा क्षेत्रमा देखिएको आकर्षणका लागि अभिकर्ता पनि बढेको जानकारहरु बताउँछन् । बीमा क्षेत्रमा नयाँ–नयाँ कम्पनी आएसँगै व्यापार बढाउन अभिकर्ता संख्या बढाउने क्रम बढेको हो ।

बीमा कम्पनीहरुले अभिकर्तासँगै शाखा कार्यालय समेत बिस्तार गरेका छन् । गत फागुनको तुलनामा चैत महिनामा बीमा कम्पनीले ४८ वटा कार्यालय विस्तार गरेका छन् । फागुन महिनामा १ हजार ४६४ कार्यालय रहेकोमा चैत महिनामा १ हजार ५१२ कार्यालय पुगेको छ ।

हाल मुलुकभर १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै जीवन बीमा कम्पनीमा चैत महिनामा १४९ कर्मचारी समेत थपिएका छन् । फागनु महिनामा ४ हजार ४४८ कर्मचारी कार्यरत रहेकोमा चैत महिनामा ४ हजार ५९७ कर्मचारी पुगेका छन् ।


क्लिकमान्डु