खारिएका यी ५ कार्यकारी निर्देशक, जो अब राष्ट्र बैंकमा रहने छैनन्



काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत १७ कार्यकारी निर्देशकहरुमध्ये खारिएका ५ कार्यकारी निर्देशकले यही जेठ २५ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य अवकाश पाउँदैछन् ।

अनिवार्य अवकाशको १ महिना अघिदेखि विदामा बस्ने राष्ट्र बैंकको चलन छ । जसअनुसार कार्यकारी निर्देशकहरु नारायण पौडेल, नरबहादुर थापा, जनक अधिकारी, भीष्मराज ढुंगाना र झलक शर्मा यही बैशाख २५ गतेदेखि बिदामा बस्दैछन् ।

पौडेल बैक तथा वित्तीय संस्था नियमन, थापा राष्ट्र ऋण व्यवस्थापन, अधिकारी लघुवित्त, ढुंगाना विदेशी विनिमय व्यवस्थापन र शर्मा बैंकिङ कार्यालय विभागका कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

राष्ट्र बैंकको कर्मचारी सेवा नियमावली २०६८ ले अन्य कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने व्यवस्था गरे पनि कार्यकारी निर्देशकका लागि भने ७ वर्ष निरन्तर सो पदमा रहेको व्यक्तिले समेत अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ ।

कार्यकारी निर्देशकहरुको अवकाशपछि रिक्त पदमा वरिष्ठताका आधारमा निर्देशकहरुलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइने छ । र, पछि उनीहरुलाई कार्यकारी निर्देशक बनाइने छ ।

त्यसैले अहिले निर्देशकहरुको कामू बन्न दौडधुप गरिरहेका छन् । राष्ट्र बैंकको कामु पाउन अर्थमन्त्री डा. युवराज खतिवडाकहाँ धाउनेहरुको जमात पनि ठूलै भएको राष्ट्र बैंककै कर्मचारीहरु बताउँछन् ।


पुष्प दुलाल