अर्थमन्त्रीले यो पटक सरकारी कर्मचारीको तलब बढाउँछन् कि बढाउँदैनन् ? कोर टिममा छलफल भएकै छैन



काठमाडौं । सरकारी कर्मचारीको तलब नबढेको ३ वर्ष भयो । तत्कालीन नेकपा एमालेबाट बिष्णु पौडेल अर्थमन्त्री हुँदा उनले कर्मचारीको तलब बढाएका थिए । त्यसपछि चुनावी वर्ष भएकाले कारण तलब बढेन ।

अघिल्लो पटक दुईतिहाई बहुमत सहित आएको ओली सरकारले तलब बढाउने अनुमान र आश सरकारी कर्मचारीको थियो । ३ वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारी कर्मचारीको तलब बढेको थियो ।

यो पटक सरकारले नीति तथा कार्यक्रममा सरकारी कर्मचारीको तलबलाई समय अनुसार बनाइने उल्लेख गरेको छ । यसले सरकारी कर्मचारीमा तलब बढ्ने अनुमान र आश छ ।

अहिले अर्थमन्त्रालय बजेट निर्माणमा स्रक्रिय छ । संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक हुन्छ । अर्थमन्त्रालय स्रोतका अनुसार अहिलेसम्म अर्थमन्त्रीले कोरटिमसँग बजेटमा तलब बढाउने विषयमा केहीपनि बताएका छैनन् ।

‘कर्मचारीलाई खुसी पार्न तलब बढाउनुपर्ने बाध्यता छ, स्रोत जुटाउनको लागि लक्ष्य अनुसार राजस्व संकलन भएको छैन, यो चुनौती अहिलेको बजेटमा छ,’ अर्थमन्त्रालयले स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

अर्थमन्त्री अहिले एशियाली विकास बैंकको बैठकमा भाग लिनको लागि फिजी गएका छन् । फिजी जानु अगाडि अर्थमन्त्रीले बजेट निर्माणमा रहेको टोलीले तलब बढाउने विषयमा केहीपनि चर्चा गरेका छैनन् ।

‘योजना आयोगको सिलिङ अनुसार बजेटमा समावेश हुने विषयमा गृहकार्य चलेपनि तलबको विषय अहिलेसम्म प्रवेश पाएको छैन,’ अर्थमन्त्रालयले स्रोतले भन्यो ।

खासगरी राजस्व संकलन कति गर्न सकिन्छ त्यो आधारमा तलब बढाउने निर्णय गरिने अर्थमन्त्रालयले स्रोतले जानकारी दियो ।

‘यो वर्ष नै लक्ष्य अनुसार राजस्व संकलन उठेको छैन, तलब बढाउदा थप पर्छ,यसमा हामीहरुले काम गरिरहेका छौ,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

यो पटक सामजिक सुरक्षा अन्तर्गत बृद्धभत्ता बढाउनुपर्ने दवाव समेत अर्थमन्त्रीलाई छ । नेकपाले चुनावी घोषणापत्रमा बृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको थियो ।


पुष्प दुलाल