फिजी जाँदै अर्थमन्त्री, लगानीका लागि आवहान गर्ने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार राति ९ बजे फिजी जाने भएका छन् ।
आगामी मे २ देखि ५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री डा. खतिवडाले नेपालको गर्भनरको रुपमा बैठकका आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।
बैठकमा अर्थमन्त्री डा. खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिड लगायतका वित्तिय संस्थाहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क) अर्थमन्त्री स्तरीय बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम रहेको मन्त्री डा.खतिवडाका प्रेस संयोजक यमन पौड्यालले बताए ।
बैठक र द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्ने बताइएको छ ।
साथै नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिने योजना रहेको छ ।
मन्त्री डा. खतिवडाले मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिनेछन् ।
बैठकमा सहभागी हुन अर्थमन्त्रीसहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख फिजी जानेछन् । अर्थमन्त्री डा. खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।