भारतीय र क्यानडाका नागरिकले समेत तिरेनन् कर, आन्तरिक राजश्वले निकाल्यो सूचना



काठमाडौं । राजश्वको लक्ष्य र प्रक्षेपित आर्थिक वृद्धिको गति र लय पछ्याउन नसकेको अर्थ मन्त्रालयले पछिल्लो समयमा कर तिर्न अटेर गर्दै आएका व्यापारी तथा व्यवसायीलाई पछिल्ला दिनमा नियमति जसो ताकेता गरिरहेको छ ।

हरेक दिन जसो आन्तरिक राजश्व कार्यालयले सूचना प्रकाशित गर्दै कर तिर्न आउन ताकेता गरिरहेका छन् ।

सोही क्रममा आज पनि आन्तरिक राजश्व कार्यालय लाजिम्पाटले कर तिर्न अटेर गरेको भन्दै ३५ व्यवसायीलाई कर तिर्न ताकेता गर्दै सूचना प्रकाशित गरेको छ ।

आन्तरिक राजश्वको सूचना अनुसार आयकर र मूल्य अभिवृद्धि कर तिर्न अटेर गरेका व्यवसायीलाई १५ दिन भित्र कर तिर्न आउन समेत आग्रह गरेको छ । पटक पटक फोन सम्पर्क गरेको तथा पत्राचार गर्दा समेत उपस्थित नभएको भन्दै आन्तरिक राजश्वले कर तिर्न ताकेता गरेको हो ।

कर तिर्न आउन सूचना जारी गरिएका व्यवसायीलाई भारतीय नागरिक उन्थोनी मुंजेली समेत रहेका छन् । यस्तै क्यानडेली व्यापारी डेभिड रोस स्वीवार्ड सिम्सन समेत छन् ।

तोकिएको समयमा कर तिर्न नआए उनीहरुलाई सबै प्रक्रिया अपनाई कर उठाइने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु