संसोधित लक्ष्यमा पनि असफल भए अर्थमन्त्री, यो वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत मात्रै



काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थिए । यो लक्ष्य अति नै महत्वकांक्षी भएको भन्दै पूर्वअर्थमन्त्री डा. रामशरण महतले कुनैपनि हालतमा पूरा नहुने प्रतिक्रिया दिएका थिए ।

डा. महतले त्यसो भनेपछि अर्थमन्त्री खतिवडाले महतलाई सफल बनाउनकै लागि भएपनि ०.१ प्रतिशत कम गरेर आर्थिक वृद्धि ७.९ प्रतिशत गरेरै छाड्ने बताएका थिए ।

तथ्यांक विभागले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।

तर अर्थमन्त्री खतिवडाले सोचेजस्तो भएन । अर्थतन्त्र टाट उल्टिन लागेको भन्दै आफैंले ल्याएको श्वेतपत्रको असर देखियो । लगानीकर्ताहरुमा आत्मबल खस्कियो । जसकारण अर्थतन्त्र सोचेअनुसार चलायमान भएन ।

र, बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले ७ देखि ८ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर हुने संसोधित लक्ष्य सार्वजनिक गरेका थिए ।

तर, तथ्यांक विभागले शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

विभागले अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेर देशको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को आकार ३४ खर्ब रुपैयाँ पुग्ने छ ।

त्यसैगरी चालू आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय १०४७ अमेरिकी डलर पुग्ने विभागको प्रक्षेपण छ ।


पुष्प दुलाल