बन्दीपुर गाउँपालिका जसले गरिदियो ३ सय विपन्न परिवारको स्वास्थ्य बीमा



दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो ।

आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार छ वडाबाट ५०÷५० घरधुरी छनोट गरी स्वास्थ्य बीमा गराइएको छ । स्वास्थ्य बीमाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा सात लाख ५० हजार लगानी गरेको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको उनले बताए । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए ।

वार्षिक रुपमा ३०० घरपरिवारको सात लाख ५० हजार शुल्क गाउँपालिकाले बेहोर्ने भएको छ ।


क्लिकमान्डु