अर्थमन्त्रीलाई राजस्वको झड्का, चैतमा लक्ष्यभन्दा ७३ अर्ब कम, आयकरको कन्तबिजोक



काठमाडौं । बजेटमा निकै नै महत्वकांक्षी राजस्व संकलनको लक्ष्य राखेका अर्थमन्त्री डा युवराज खतिवडालाई संकलन भएको राजस्वले ठूलो झड्का नै दिएको छ ।

अर्थमन्त्रालयले चैत महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर,चैत महिनामा ४३ अर्ब ५५ करोड मात्र राजस्व संकलन भयो । अर्थात लक्ष्यको ७३ अर्ब ४५ करोड राजस्व संकलन भएन ।

मुख्य रुपमा चैत महिनामामात्र आयकर तर्फ ३७ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । तर, संकलन भने जम्मा ६ अर्ब ११ करोड रुपैयाँमात्र भयो । चैत मसान्तमा आयकरको दोस्रो किस्ता बुझाउनुपर्छ । जसमा ब्याजकर तर्फ ५० करोडको लक्ष्य राखिएकोमा ४६ करोड रुपैयाँ राजस्व संकलन भयो भने आयकर तर्फ ३६ अर्ब ८१ करोड रुपैयाँको लक्ष्यमा ५ अर्ब ६५ करोडमात्र उठ्यो ।

‘लक्ष्य अनुसार दोस्रो किस्तामा आउनुपर्ने आयकर आएन,यसले आर्थिक गतिविधिहरु संकुचन भएको समेत संकेत गरेको छ,’ राजस्वका एक अधिकारीले भने ।

खास गरेर ठूला कम्पनीहरुको आम्दानीमा कमी आएको संकेत आयकरको संकलन देखाएको छ ।

अघिल्लो वर्षको चैत महिनामा मात्र आयकर तर्फ २४ अर्ब ७६ करोड राजस्व आयकर तर्फ संकलन भएको थियो । चैत महिनासम्ममा १ खर्ब ७ अर्ब रुपैयाँ संकलन भएको थियो । यो वर्ष चैत महिनामा ६ अर्ब ११ करोड मात्र आयकर तर्फबाट राजस्व आयो भने चैत मसान्तसम्ममा १ खर्ब ११ अर्ब संकलन भयो ।

जबकी चैतसम्मको लक्ष्य १ खर्ब ५९ अर्ब रुपैयाँको थियो । यो वर्ष २ खर्ब २४ अर्ब रुपैयाँ आयकरबाट राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । पछि त्यसलाई संसोधन गरेर २ खर्ब १५ अर्ब रुपैयाँमा झारिएको थियो ।

यस्तै चैत महिनामा भन्सार तर्फ १५ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखिएकोमा ९ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठेको छ । मूल्य अभिबृद्धि कर(भ्याट) तर्फ २४ अर्ब ८८ करोड रुपैयाँको लक्ष्य रहेकोमा १४ अर्ब ७३ करोड रुपैयाँमात्र संकलन भएको छ ।

यस्तै अन्तशुल्क तर्फ ११ अर्ब ८१ करोड रुपैयाँको लक्ष्यमा ७ अर्ब रुपैयाँमात्र संकलन भएको छ । अन्य खालका करमा १ अर्ब २८ करोडको लक्ष्यमा १ अर्ब ३७ करोड संकलन भएको छ । लक्ष्यभन्दा बढी हुने शिर्षक अन्यको मात्र हो । शिक्षा सेवा शुल्क तर्फ ९ करोड २४ लाख रुपैयाँको लक्ष्यमा ७ करोड २७ लाख रुपैयाँ संकलन भएको छ । गैर करतर्फ २५ अर्ब ७३ करोडको लक्ष्यमा ४ अर्ब ७० करोड रुपैयाँमात्र चैत महिनामा संकलन भयो ।

महिनागत आधारले अहिलेसम्म चैतमा जस्तो लक्ष्यको अत्याधिक कम राजस्व पछिल्ला वर्षमा उठेको थिएन ।

सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसलाई संसोधन गरेर ९ खर्ब १७ अर्ब रुपैयाँमा झारिएको थियो ।

चैत मसान्तसम्ममा ६ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । जसमा ५ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । तर, महालेखा नियन्त्रकको कार्यालयले ५ खर्ब ११ अर्ब रुपैयाँमात्र संकलन भएको देखाएको छ ।


क्लिकमान्डु