राजस्व लक्ष्य पुरा गर्न अर्थमन्त्री खतिवडाको निर्देशन : बजार अनुगमन बढाउ



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व परिचालन बढाउनको लागि बजार अनुगमनमा जोड दिन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्रालयमा आइतबार बसेको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति को बैठकमा अर्थमन्त्रीले यस्तो निर्देशन दिए ।

बैठकमा योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल समेत सहभागी थिए ।

बैठकमा अर्थ मन्त्रालय र मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्न खतिवडाले निर्देशन दिए । बजेट कार्यान्वयनलाई उपलब्धीमूलक बनाउन तर्जुमा गर्नु पर्ने र संशोधन गर्नुपर्ने बाँकी कानूनहरुको शीघ्र तर्जुमा गर्ने, राजस्व परिचालनमा बिलिङ्ग कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिनुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।

नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यहरुको समयमा कार्यान्वयन गर्न जिम्मेवार भई कार्यसम्पादन गर्न निर्देशन दिए । मन्त्रीले अन्तर प्रदेश परिषद एंव अन्तर सरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न र आगामी आर्थिक बर्षको बजेट तर्जुमामा वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न समेत निर्देशन दिए ।

योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले आर्थिक बर्षको बाँकी अवधिमा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न जोड दिदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको वीचमा आगामी बजेट तर्जुमामा प्रभावकारी सहकार्य गर्नुपर्ने बताए ।

अर्थ सचिव डा राजन खनाल,  राजस्व सचिव  लालशंकर घिमिरे र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम समेतको उपस्थिति रहेको सो कार्यक्रममा महाशाखा प्रमुख, विभागीय प्रमुख, नियामक निकायमका प्रमुख र आयोजना प्रमुखहरुले आ(आफ्नो निकायको प्रगति अवस्था र कार्यान्वयनको क्रममा देखा परेका समस्याको बारेमा संक्षिप्त प्रस्तुति गरेका थिए ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले गत एक बर्षको अवधिमा अर्थ मन्त्रालय र अन्तर्गत भएका उपलब्धीका बारेमा प्रस्तुती गरेका थिए ।

अर्थ मन्त्रालयले विगत एक बर्षमा कानून निर्माण, वित्तीय संघीयता कार्यान्वयन, वित्तीय क्षेत्र ब्यवस्थापन र राजस्व प्रशासनमा सुधार लगायतमा ठोस प्रगति हासिल गरेको जानकारी दिए । कार्यक्रममा समग्र बजेट खर्च स्थिति, अर्थ मन्त्रालयको खर्च स्थिति, बार्षिक लक्ष्य र प्रगति विवरण, आयोजनारकार्यक्रम कार्यान्वयनमा देखिएको केही तथ्य र प्रगति बारे संक्षिप्त प्रस्तुति भएको थियो।

अर्थ मन्त्रालय र मातहतका निकायले चालु आर्थिक बर्ष २०७५र७६ को नीति तथा कार्यक्रम र बजेट बक्तब्यमा उल्लेखित कार्यक्रमहरुको कार्ययोजना बमोजिमको प्रथम आठ महिनामा प्रगति अवस्थाको विवरण समेत प्रस्तुत भएको थियो ।


क्लिकमान्डु