निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीनवटा फरक फरक देशको प्रस्ताव



काठमाडौं । बाराको निजगढमा बनाउन लागिएको अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि तीनवटा प्रस्ताव आएको छ ।

लगानी बोर्डले लगानी सम्मेलनको क्रममा निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजना पनि लगानीकर्ताको लागि शोकेस गरेको थियो ।

अहिलेसम्म निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि तीनवटा प्रस्ताव आएको जानकारी लगानी बोर्डले दिएको छ ।

लगानीकर्तालाई प्रस्ताव गर्ने समय अझै १३ दिन बाँकी छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले तीनवटा देशका लगानीकर्ताबाट निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव आएको जानकारी दिए ।

‘लगानीकर्ताले अहिले निजगढमा आशय देखाएका छन्,हामीले आशय दिएका सबै लगानीकर्तासँग विस्तृत विवरण माग गर्छौ,त्यसपछिमात्र कसलाई विमानस्थल बनाउन दिने टुंगो लाग्छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने ।
लगानी बोर्डले पब्लिक प्राइभेट पार्टनरशिप(बुट) मोडलमा निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना अगाडि सारेको छ ।

बोर्डले तीनवटा फेजमा विमानस्थल निर्माणको काम अगाडि बढाउने योजना सारेको छ । दुईवटा फेजसम्मको काम सकिदा यसमा ३ अर्ब ४५ करोड अमेरिकी डलर लागत लाग्ने अनुमान छ ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलको लागि पछिल्लो समय कतार सरकारले समेत चासो देखाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको क्रममा कतारले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि चासो देखाएको थियो ।

लगानी बोर्डका अनुसार अहिलेसम्म १३ वटा परियोजनामा लगानीको प्रस्ताव आएको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थल बाहेक काठमाडौं मेट्रो बनाउन एउटा,तमोर हाइड्रोपावरमा दुईवटा,पश्चिम सेतीमा एउटा,काठमाडौंको बाहिरी चक्रपथको लागि दुईवटा प्रस्ताव आएको छ ।


क्लिकमान्डु