यो वर्ष ६.२ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने एडिबीको प्रक्षेपण



काठमाडौं । एशियाली विकास बैंकले चालु आर्थिक वर्षमा ६.२ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।

एडिबीका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले चालु आर्थिक वर्षमा सवल आन्तरिक मागको कारण आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख भइरहेको बताए ।

‘ भूकम्प पछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पु¥याएको छ,वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा, यस आर्थिक परिदृश्यमा जोखिम आउँन सक्दछ’,उनले भने ।

एडिबीले चालु आर्थिक वर्षमा कृषिको उत्पादन बृद्धिदर ४.८ प्रतिशतले बढ्ने जनाएको छ । धानको उत्पादन अघिल्लो वर्षको तुलनामा ८.४ प्रतिशतले बढेर ५५ लाख टन पुग्ने प्रक्षेपण एडिबीको छ ।

यस्तै चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यसका साथै थोक तथा खुद्राव्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवा साथ सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना रहेको एडिबीले जनाएको छ ।

प्रतिवेदनले भारतमा मुद्रास्फीति केहीउच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने र नयाँ संघीय संरचनाअन्तर्गत सरकारी खर्च उच्च रहने कुरालाई प्रतिविम्बित गर्दै चालु आर्थिक वर्षमा मूल्यबृद्धि ४.४ प्रतिशत पुग्ने उल्लेख गरेको छ ।

उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको छ । सबल राजस्व वृद्धिका कारण चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बजेट बचतमा रहेको छ ।

आर्थिक वर्षको पहिलो ७ महिनामा पुँजीगत खर्च बढेता पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशत मात्र रहेको छ । जसले गर्दा फेरिपनि आयोजनाहरुको गुणस्तरमा नजर अन्दाज हुने र आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति हावी हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले भनेको छ, ‘बढ्दो व्यापार तथाचालु खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेको छ, चालु आर्थिक वर्षमा माघसम्मको तथ्याङ्कले चालु खाता घाटा १.५ बिलियन अमेरिकी डलर पुगेको देखाउँछ जबकी अघिल्लो वर्षको सोही अवधिको चालु खाता घाटा १.४ बिलियन अमेरिकी डलर थियो।’

विप्रेषण आम्दानीको राम्रो वृद्धि र पेट्रोलियम पदार्थको मूल्य स्थिर रहे पनि पुँजीगत र उपभोग्य वस्तु तथा सेवाको आयात बढ्नाले अघिल्लो वर्षको कुल गार्हस्थ उत्पादनको ८.२ प्रतिशतबाट बढेर यो वर्ष चालु खाता घाटा ९.३ प्रतिशतले बढ्ने देखिएको छ ।

नेपालका लागि एडिबीका अर्थशास्त्री मानबर सिंह खड्काले नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको बढ्दो महत्वलाई दृष्टिगत् गर्दै सेवा क्षेत्रमा निर्यात विविधीकरण मार्फत व्यापार घाटा कम गर्न स्पष्ट कार्ययोजनाहरु ल्याउन आवश्यक भएको बताए ।


क्लिकमान्डु