जनकपुर-जयनगर रेल वैशाख १ देखि चलाउने तयारी



धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

उक्त मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाई छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताए ।

मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाई छ । उनले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए ।

विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरीद गर्ने जनाएको छ । रेल खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए ।

मुलुककै एक मात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इञ्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ । जनकपुर-जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इञ्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ ।

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इञ्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् । जनकपुरबाट करिब १५ किमी दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेहनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इञ्जिन संरक्षण भएको छैन ।

यस्तै पुरानो न्यारोगेज रेल्वे बन्द भए पनि अहिले ब्रोडगेज रेल्वेको तयारी भइरहेको छ । सबैभन्दा कम २ फिट ६ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । लिकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । बेलायती सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको थियो । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किमी ब्रोडगेज रेल लाइनको पहिलो चरणको निर्माण अन्तिम अवस्थामा पुगेको जनाइएको छ ।

पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सेवा सञ्चालन हुनेछ । न्यारोगेजभन्दा ब्रोडगेजले प्रभावकारी हुने स्थानीय बासिन्दाको विश्वास छ । रेल कम्पनीका निमित्त प्रमुख डाँगीका अनुसार अबको दुई महिनामा प्लेटफर्मसहित स्टेशन र हल्ट निर्माणले पूर्णता पाउने छ । विभागले प्रत्येक स्टेशनमा रेल्वे कम्पनीका कर्मचारीलाई खटाएको छ ।

विगतमा ‘न्यारो गेज रेल’ सञ्चालनमा रहेको बेला स्टेशन घरदेखि प्लेटफर्म पुरानो ढाँचाका थिए । अहिले बनिरहेको स्टेशनको डिजाइन भारतको राइट्स कम्पनीले बनाएको डिजाइनअनुरुप नै तयार भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाले बताए ।

जनकपुरमा स्टेशन नभएर हल्ट बनेको छ । स्टेशनमा रेलका दुई लिक हुन्छ र रेल बढी समय रोकिने गर्छ । हल्टमा एउटा मात्रै रेल लिक हुन्छ र रेल छोटो समयका लागि मात्र रोकिने गर्छ ।

विगतमा जनकपुर अन्तिम स्टेशन थियो । ‘न्यारो गेज’ हुँदा तीनदेखि चारसम्म रेलको लिक बिछ्याइएको थियो । अहिले जनकपुर हल्टमा परिणत हुनाका साथै सिङ्गल लिक बिछ्याइएको छ । अन्तिम स्टेशन अब जनकपुर नभएर जनकपुरधाम उपमहानगरपालिकाकै कुर्था स्टेशन बनेको छ ।

जनकपुरधाम हल्ट आकर्षक देखिएको छ । प्रदेश नं २ को राजधानीसमेत भएकाले यात्रुको चाप अन्य स्टेशन तथा हल्टभन्दा बढी हुने हुनाले प्लेट फर्मदेखि हल्टसम्मको क्षेत्रफल ठूलो बनेको छ ।

जयनगर-जनकपुर-बिजुलपुरा-बर्दिबास रेल सेवा सञ्चालनमा आएपछि कोलकाता बन्दरगाहबाट काठमाडौंको दूरी १३० किलोमिटर घट्ने छ । जयनगर–बर्दिबास रेल सेवा सञ्चालन भएपछि स्थानीयस्तरमा आर्थिक गतिविधि तीव्र हुनेछ ।

जनकपुर-जयनगर रेल सेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभङ्गा महाराज ९भारत स्वतन्त्र हुनुपूर्वका राजा० सँग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो । दरभङ्गा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेल सेवा सञ्चालन भएसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ ।

सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मे भई सडक यातायात अवरूद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ । रेल विस्तार तथा स्तरोन्नतिले स्थानीय बासिन्दा हर्षित छन् ।

८ स्टेशन र ६ हल्ट

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन् ।

महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् । स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ ।

जयनगरमा चार लाइन, इनरुवामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रहने छ । जयनगरदेखि बिजलपुरासम्म रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किमी रेलमार्गका लागि जग्गा अधिग्रहण जारी छ । रासस


क्लिकमान्डु