प्यान र अनलाइन समस्या समाधान गर्न अर्थले काट्यो बोर्डलाई पत्र



काठमाडौ । सेयर बजारलाई अनलाइन प्रणालीमा लैजाने उद्देश्य अनुरुप गत कार्तिक २० गते अनलाइन प्रणालीको उद्घाटन भयो । उद्घाटनपश्चात विभिन्न समयमा विभिन्न समस्या आएपछि त्यसको चर्को विरोध हुँदै आएको छ ।

अचम्मको कुरा त के छ भने उद्घाटन भएको चार महिना बितिसक्दा अनलाइनमा आएको समस्याले यत्ति ठुलो हङ्गामा मच्चाउदाँ पनि पुँजीबजारको मुख्य नियामक निकाय अर्थमन्त्रालयले आज मात्रै समस्याबारे औपचारिक जानकारी पाएको छ । अनलाइनको समस्याका बारेमा आजै मात्र औपचारिक
जानकारी पाएको अर्थमन्त्रालयका उच्च पदस्थ अधिकारीले बताएका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल आजै प्यान र अनलाइन समस्याबारे ध्यानाकर्षण गराउन अर्थमन्त्रालय पुगेकी थिइन् । उक्त ध्यानाकर्षण पत्र बुझेपछि मन्त्रालयका अधिकारीले अनलाइनको समस्याका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार देखेको भएपनि समस्याबारे औपचारिक रुपमा कुनै जानकारी नआएको बताएका छन् ।

सेयर बजार निरन्तर ओरालो लागेको अवस्थामा तत्काल प्यान अनिवार्य गर्न नहुने, यसलाई केहि समय पछि धकेल्नुपर्ने, अनलाइन समस्या तत्काल समाधानका लागि अर्थमन्त्रलायले हस्तक्षेप गर्नुपर्ने लगायतका माग राख्न आज नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले अर्थमन्त्रालय पुगेकी थिइन् । मन्त्रलायका उच्चपदस्थ अधिकारीहरुसँगको भेटमा आफुले गम्भिर रुपमा समस्याहरु राखी त्यसको समाधानका लागि पहल गर्न अनुरोध गरेको उनले बताइन् ।

१९ करोड लगानीमा बनेको अनलाइन प्रणालीमा आएको समस्या लगातका विषयमा औपचारिक जानकारी आएपछि अर्थमन्त्रालयले आजै धितोपत्र बोर्डलाई पत्र काटि समस्या समाधानका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।


क्लिकमान्डु